काठमाडौं । गैँडा गणना सकिएको छ । यही चैत ९ गते पर्सा राष्ट्रिय निकुञ्जबाट सुरु गरिएको गैँडा गणना हिजो सकिएको थियो ।
तवन राष्ट्रिय निकुञ्जको समेत हिजो नै गणना सकिएकाले आज नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ ।
नतिजा दिउँसो पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी भएको छ । यसपटक ४० जना मुख्य गणक र २० जना वैकल्पिक गणक गैडा गणनामा खटिएका थिए ।
हरेक पाँच पाँच वर्षमा गैँडा गणना गर्ने गरिन्छ । तर, कोरोना महामारीका कारण यसपटक एक वर्ष ढिला भएको हो ।
यसअघि सन् २०१५ मा गैँडा गणना गरिएको थियो । निकुञ्जलाई विभिन्न ब्लक बनाएर प्राविधिकले एक–एक गरी गैँडा गनेका छन् ।
गैँडाको सङ्ख्या, प्रजनन अवस्था, विचरण र आहाराको अवस्था थाहा पाउन हरेक पाँच पाँच वर्षमा गैँडा गणना गरिँदै आएको हो ।
गणनापछि यसको अवस्था हेरेर व्यवस्थापनको काम गरिने छ । पछिल्लो पटक सन् २०१५ को गणनामा नेपालमा कूल ६४५ वटा गैँडा थिए ।
तथ्याङ्कअनुसार चितवनमा ६०५, बर्दियामा २९, शुक्लाफाँटामा आठ र पर्सामा तीन गैँडा भेटिएका थिए । यस वर्ष गणनामा ४० हात्ती र २०० जनशक्ति परिचालन गरिएको थियो ।
गैँडा गणनाका क्रममा बर्दियामा एकजना गणकमाथि बाघले आक्रमण गर्दा मृत्युसमेत भएको थियो ।