सर्लाही । नेकपाका एक स्थानीय नेताको हत्या अभियोगमा सर्लाहीका एक वडाध्यक्षलाई जेल चलान गरिएको छ । हत्या अभियोगमा सर्लाहीका रामनगर गाउँपालिका वडा नम्बर–४ का वडाध्यक्ष रामनरेश महतोलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको हो ।
रामनगर गाउँपालिका वडा नम्बर–४ स्थित बहुअर्वाका ६० वर्षीय रामजनम भनिने रामजल रायको हत्या घटनामा वडाध्यक्ष महतो मुछिएका थिए । सर्लाही जिल्ला अदालतका न्यायाधीश दीनबन्धु बरालको इजलाशमा थुनछेक बहसपछि वडाध्यक्ष महतोलाई पुर्पक्षमा कारागार चलान गर्ने आदेश भएको छ ।
अदालतको आदेश नुसार नै वडाध्यक्ष महतोलाई गत शुक्रबार नै गौर कारागार चलान गरिएको छ । नेता रामजलको गत असार ७ मा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा घर नजिकैको खेतमा शव फेला परेको थियो । उनको हत्या लगत्तै प्रहरीले आरोपित वडाध्यक्ष महतोलाई पक्राउ गरेको थियो ।