काठमाडौँ । प्रदूषित शहरको सूचीमा हिजो विश्वकै शीर्ष स्थानमा रहेर खराब रेकर्ड बनाएको काठमाडौँ उपत्यकामा आज पनि सुधार देखिएको छैन । वायु प्रदूषणबारे मापन गर्ने आईक्यू एयर डट कमका अनुसार आज काठमाडौँ चौथो नम्बरमा भएपनि अवस्था हिजोको भन्दा खराब रहेको छ ।
आज विश्वको सबैभन्दा धेरै वायु प्रदूषित शहरको एक नम्बरमा भारतको राजधानी नयाँ दिल्ली छ । अरू शहरहरू अझ बढी खराब अवस्थामा पुगेपछि काठमाडौँ चौथो स्थानमा झरेको हो । तर घातक वायुको अवस्था उस्तै नै रहेको पाइएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार तत्कालै वर्षाको सम्भावना नरहेकाले काठमाडौँ उपत्यकाको प्रदूषण हटिहाल्ने अवस्था छैन ।
अहिले मुलुकका विभिन्न ठाउँका वनजंगलमा भएको आगलागी र डढेलो नै अहिले वायु प्रदूषणको मुख्य कारक रहेको मौसमविद् बताउँछन् । साथै यसबारे थप वैज्ञानिक अध्ययन भने जरुरी रहेको मौसमविद् शान्ति कँडेल बताउनुहुन्छ ।
विभिन्न स्थानमा राखिएको वातावरण विभागको वायु गुणस्तर स्टेशनमा आजको मापन अनुसार प्रदूषित वायुको स्तर खासै घटेको छैन । सामान्यतया एक्यूआई ५० भन्दा कम हुनुलाई राम्रो वायु मानिन्छ भने एक्यूआई ३ सय भन्दा माथि पुग्नुलाई स्वास्थ्यका लागि हानिकारक मानिन्छ । र समग्रमा आजको एक्यूआई पनि ३ सयभन्दा बढी नै रहेको विभागले बताएको छ ।
हानिकारक वायु अझै केही दिन रहे जनस्वास्थ्यमा गम्भीर समस्या उत्पन्न हुने विज्ञको चेतावनी छ । बिषेशगरी श्वासप्रश्वास सम्बन्धि रोग भएकालाई यस्तो वायुले असर गर्ने जनस्वास्थ्यविद्को भनाइ छ । फोक्सो, मुटु र मस्तिष्कसम्बन्धि रोग भएकालाई यसले गम्भीर समस्या पार्न सक्ने जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डे बताउनुहुन्छ ।
आज सार्वजनिक बिदाले गाडीको चाप घटेको र भोलि पनि होलीको बिदा भएकाले सवारी साधनको चाप कम नै हुनेछ । त्यसकारण धुलो तथा धुँवा कम उड्ने भएकाले प्रदूषण कम हुने वातावरण विभागको विश्वास छ ।
यस्ता समस्याबाट दिर्घकालिन रुपमा कसरी मुक्त हुने भन्नेमा एक्सन प्लान नै बनाएर लागिपरेको विभागका उप–महानिर्देशक इन्दुबिक्रम जोशीले बताउनुभयो । सवारीसाधन थपिने क्रम जारी रहेको र जनसंख्या वृद्धि भइरहेकाले यसले झन् चुनौती भने थपिएको जोशीको भनाइ छ ।
दक्षिणी छिमेकी मुलुक भारतबाट उडेर आएको धुलो र मुलुकका विभिन्न ठाउँमा भएको आगलागी तथा डढेलोका कारण वायु प्रदूषित भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत हिजो नै एक्कासी काठमाडौँ उपत्यकाको वायु प्रदूषण बढेपछि स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेको छ ।