काठमाडौं । राष्ट्रिय जनगणना २०७८ का लागि खुला गरिएको आवेदनमा झन्डै दुई लाखले आवेदन दिएका छन् ।
जनगणनाका लागि सुपरीवेक्षक आठ हजार र गणक ३९ हजार गरी ४७ हजार जनशक्ति माग गरिएकोमा एक लाख ८९ हजार २३ जनाले आवेदन दिएका हुन् ।
केन्द्रीय तथ्याङ्क विभागले गत माघ ११ गतेदेखि चैत ११ गतेसम्म दुई महिनाका लागि आवेदन खुला गरेको थियो ।
माग गरिएभन्दा करिब चार गुणाभन्दा बढीले आवेदन दिएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।
विभागका उपमहानिर्देशक डा. हेमराज रेग्मीले एक लाख ३६ हजार ७०१ जनाले गणक पदमा, १८ हजार ५१३ जनाले सुपरीवेक्षक र दुवै पदमा ३३ हजार ८०९ जनाले आवेदन दिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार आवेदन दिएका मध्येलाई योग्यताका आधारमा सूची तयारी गरी स्थानीयलाई प्राथमिकता दिएर उम्मेदवार छनोट गरिने छ ।
छनोट भएका उम्मेदवारलाई स्थायी ठेगाना भएको स्थानमा काम गर्न असहज भए हाल बसोबास गरेकै स्थानमा पनि काम गर्न खटाउन सकिने विभागले जनाएको छ ।