काठमाडौँ- काठमाडौँ उपत्यकाको आकाशमा धुवाँको मात्रा बाक्लो देखिएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले आज दिउँसोदेखि काठमाडौँ उपत्यकाको बायुमा धुवाँ मिसिएका कारण मौसम धुम्म भएको बताउनुभयो ।
‘यहाँको वायुमा केही दिनयता तुवाँलो देखिएको थियो । आज दिउँसोदेखि धुँवा पनि मिसिएको छ । पश्चिमी बायु पनि सक्रिय छ’, मौसमविद् पौडेलले भन्नुभयो ।
वन विभागका डढेलो महाशाखाका प्रमुख सुन्दर शर्माले लाङटाङ राष्ट्रिय निकुञ्जमा डढेलो लागिरहेकाले त्यहाँबाट निस्किएको धुँवा पश्चिमी वायुले काठमाडौँतर्फ ल्याएको हुनसक्ने बताउनुभयो ।
‘लाङटाङ राष्ट्रिय निकुन्जमा डढेलो बढिरहेको छ । यही कारण धुँवा फैलिएको हुन सक्छ’, शर्माले भन्नुभयो ।
लाङटाङ राष्ट्रिय निकुन्जका रेन्जर नितेन्द्र सिंहले त्यहाँ फागुनदेखि लगातार डढेलो लागिरहेको बताउनुभयो । ‘यहाँ अहिले आगो बढिरहेको छ र मुस्लो पनि ठूलो निस्किरहेको छ’, सिंहले भन्नुभयो ।
वातावरणविद्ले भने काठमाडौँ उपत्यकामा आजदेखि मौसम स्वास्थ्यका लागि हानिकारक रहेको बताउनुभएको छ ।
‘यसले आँखा पिरो हुने, पोल्ने, छाला चिलाउने, स्वासप्रश्वासमा समस्या देखिन सक्छ । यस्तो अवस्थामा अत्यावश्यक कामबाहेक बाहिर निस्कनु हुँदैन । निस्कनु परे मास्क लगाउनुपर्छ । बालबालिका र बृद्धबृद्धा तथा गम्भीर रोगका बिरामीहरुलाई यसले बढी असर गर्न सक्छ’, वातावरण विभागका उपमहानिर्देशक इन्दु विक्रम जोशीले भन्नुभयो ।