काठमाडौं । सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । आज दिउँसो सिन्धुलीमाडीबाट बाँसकटेरीतर्फ गइरहेको बोलेरो जिप कमलामाई नगरपालिका ७ करमडाँडामा दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख (एसपी) आभूषण तिमिल्सिनाले दुर्घटनामा चार जनाको मृत्यु भएको बताउनुभयो । उहाँका अनुसार जिपमा ११ जना सवार थिए ।
एसपी तिमिल्सिनाका अनुसार मृत्यु हुनेहरुमा कमलामाई नगरपालिका ४ बाँसकटेरीका अन्दाजी ६५ वर्षका रुद्रबहादुर थापा, १८ वर्षीया रीता स्माइली, १८ वर्षीया दुर्गा श्रेष्ठ र उनका २ वर्षीय छोरा मनिष श्रेष्ठ रहेका छन् ।
त्यस्तै दुर्घटनामा बलेरोका चालक भोजविक्रम थापा गम्भीर घाइते भएको र उनलाई थप उपचारका लाथि ट्रमा सेन्टर काठमाडौ ल्याइएकोे उहाँले बताउनुभयो ।
त्यस्तै दुर्घटनामा कमलामाई नगरपालिका ४ बाँसकटीका २७ वर्षीय धनबहादुर श्रेष्ठ, २२ वर्षीया कविता श्रेष्ठ, २० वर्षीया शान्तिमाया थिङ, ५० वर्षीया सुनमाया थिङ, ३० वर्षीया सुकमाया थिङ, २८ वर्षीय बिनिता श्रेष्ठ र उनका डेढ वर्षका छोरा पनि घाइते भएका छन् । गम्भीर घाइतेहरुलाई थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको बताउनुभयो ।