काठमाडौं । नेपाल राष्ट्र बैंक सञ्चालक समितिले आर्थिक वर्ष २०७७/७८ का लागि ल्याउन लागिएको मौद्रिक नीति पारित गरेको छ । बोर्डबाट पारित भएसँगै दिउँसो ३ बजे नीति सार्वजनिक गर्ने राष्ट्र बैंकले जनाएको छ ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिबाट ऋणीहरुलाई ऋण तिर्नका लागि समयावधि २ वर्षसम्म थपिने भएको छ । ऋणीको प्रकृति अनुसार ३ महिनादेखि २ वर्षसम्म ऋण तिर्ने समयावधि थप गर्ने गरी मौद्रिक नीति तर्जुमा भएको बताइएको छ । बढी प्रभावितले बढी सुविधा पाउनेछन् ।
यसैगरी ब्याजलाई पुँजीकरण गर्न मिल्ने व्यवस्था पनि मौद्रिक नीतिले गरेको छ । सहुलियत कर्जा तथा पुनर्कर्जालाई गाउँ–गाउँसम्म पुर्याउने समेत नीतिमा उल्लेख गरिएको बताइएको छ । मौद्रिक नीतिले बैंकको ब्याजदर घटाउने, डिजिटल पेमेन्टलाई प्रोत्साहन गर्ने, सेयर धितो कर्जा बढाउने लगायतको व्यवस्था गरेको छ ।