काठमाडौं । पर्यटक सवारीचालक, ट्याक्सीचालक तथा रिक्सा चालकहरूसँगको अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम पर्यटक प्रहरी इकाई भृकुटीमण्डपको आयोजना तथा नेपाल पर्यटन बोर्डको सहयोगमा शनिबार सम्पन्न भएको हो ।
कार्यक्रममा पर्यटकहरू नेपाल आइसकेपछि पहिलो सम्पर्कमा सवारी चालकहरू हुने भएकाले सवारीचालकहरुले गर्ने व्यवहारबाटै उनीहरुको नेपालप्रतिको दृष्टिकोण बन्ने भएकोले पर्यटकको आतिथ्यतामा नेपालीपन देखाउन सरोकारवालाहरुले जोड दिनुभएको छ ।
अनुशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओे) डा. धनञ्जय रेग्मीले पर्यटन व्यवसायमा बोली व्यवहार र आतिथ्यताको महत्वपूर्ण भूमिका रहने हुँदा सवारी चालकहरूले सोही अनुरूपको व्यवहार आवश्यक भएको बताउनुभयो । उहाँले चालकहरुलाई अतिथिदेवो भवः भन्ने नेपाली परम्परा र सभ्यताको अनुशरण गर्न सके त्यसको छाप विश्वभर फैलान सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल प्रहरी अस्पतालका प्रहरी नायक उपरीक्षक (डिएसपी) डा. विवेकराज भण्डारीले कोभिडको अवस्थामा पर्यटक र आफ्नो सुरक्षा तथा स्वास्थ्य मापदण्डका बारेमा सहभागीहरुलाई जानकारी दिनुभएको थियो ।
यस्तै, नेपाल पर्यटन बोर्डका प्रबन्धक सुमन घिमिरेले नेपाल पर्यटन बोर्डले कोभिडको अवस्थामा गरेका कार्यहरु र भावी योजनाबारे जानकारी दिनुभएको थियो ।
त्यसैगरी, कार्यक्रममा नेपाल प्रहरी ट्राफिक महाशाखाका प्रहरी निरीक्षक दीपक भट्टले ट्राफिक व्यवस्थापन र होटल संघ नेपाल हानका प्रमुख कार्यकारी अधिकृत टेक महतले पर्यटनमा आतिथ्यता र सञ्चारको भूमिकाका बारेमा पर्यटक प्रहरी इकाई भृकुटी मण्डपका प्रहरी निरीक्षक चन्द्रकिशोर साहले पर्यटक प्रहरीले गरिरहेका क्रियाकलाप र गर्नुपर्ने कामका बारेमा बताउनुभएको थियो ।
सहभागिहरुले यस्ता अनुशिक्षण कार्यक्रममले आफ्नो व्यबहार परिवर्तन तथा अन्य सिकाइमा सहयोग पुगेको धारणा राख्दै यस खालका तालिम तथा प्रशिक्षणलाई निरन्तरता दिनुपर्ने बताका थिए ।