काठमाडौं । कैलालीको धनगढीमा रहेको एक फर्निचर उद्योगमा आगलागी भएको छ । उपमहानगरपालिकाको वडा नम्बर–४ चटकपुरमा रहेको आलोक मल्टी कन्सर्न प्रालिमा आगलागी भएको हो ।
फर्निचर उद्योगसँगै रहेको शोरुममा मध्यान्ह करिब १२ बजेतिर आगलागी सुरु भएको थियो भने करिब दुई घण्टापछि नियन्त्रणमा आएकोे छ ।
धनगढी उपमहानगरपालिकाका दुईवटा दमकल, गोदावरी नगरपालिकाको एउटा दमकल, एउटा स्काभेटर, नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले आगो निभाएका थिए ।
आगलागीबाट करिब पाँच करोड बराबरको क्षति भएको उद्योगका सञ्चालकले बताएका छन् । प्रहरीले भने क्षतिको विवरण खुलाउन बाँकी छ ।
आगलागीको कारण खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।