काठमाडौं । रुकुम पश्चिममा अन्र्तजातीय प्रेमको विषयमा घटेको घटनाका पीडितहरुले वर्षदिन पुग्न लाग्दा पनि न्याय नपाएको भन्दै मानवअधिकारवादीहरुले हालै काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीहरुले ‘राजनीतिभन्दा माथि समुदाय, समुदायभन्दा माथि मानवता’, मावअधिकारको रक्षा गर’, यो देश दलितको पनि हो’ जस्ता प्लेकार्ड बोकेका थिए ।

‘रुकुम संहार ! बर्ष बित्यो पीडितको आँखा ओभानो भएन ! न्यायको माग गर्दै माइतीघरमा सहभागी !’, सामाजिक अधियन्ता तथा मानवअधिकारवादी रीता परियारले ट्विटरमा तस्बिरहरु पोस्ट गर्दै लेख्नुभएको छ ।

गत वर्षको जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका –८ सोतीमा अन्र्तजातीय प्रेमका कारण विभत्स घटना भएको थियो । सोती निवासी सुष्मा मल्लसँग जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथी लिएर केटीको घरमा जाँदै गर्दा स्थानीयवासीको कुटपिटमा परी मृत्यु भएको थियो ।
मृतक नवराजको शव भेरी नदीमा भटिएको थियो । नवराजसँगै केटीको घरमा गएका अन्य पाँच जनाको पनि ज्यान गएको थियो ।
