काठमाडौं । बिहिबार (आज) प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास गर्नुहुने भएको छ ।
आर्थिक वर्ष २०७३-७४ मै कार्यान्वयन सहमति पाएको सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको आज प्रधानमन्त्री ओलीले शिलान्यास गर्न लाग्नुभएको हो ।
आयोजनालाई प्रदेश नम्बर २ को कृषि क्षेत्र सुधारको अभियानका रूपमा व्याख्या गरिँदै आएको छ । प्रदेश–३ को जलस्रोतलाई प्रदेश नम्बर २ मा पु¥याएर कृषि उत्पादन बढाउन आयोजना फलदायी हुने दाबी सरकारको छ ।
करिब ४६ अर्ब लागतको उक्त आयोजनामा तामाकोशी र सुनकोशी मिसिने स्थानभन्दा ७ सय मिटर तल बाँध बाँधेर सुनकोशीको पानी सुरुङमार्फत मरिनमा खसालिने छ ।
मरिनको पानी वागमतीमा पुग्ने छ र वागमती सिँचाइ आयोजनामार्फत थप एक लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पु¥याउन सकिने छ ।
मरिनमा खसेको पानी ४० किलोमिटर तल वागमती नदीमा बाँधिएको बाँधमा पुगेर सिँचाइ नहरमा लगिने छ । आयोजना कार्यान्वयनसँगै मरिन नदी आसपासका वासिन्दाको आर्थिक समुन्नति हुने सरकारको बिश्वास रहेको छ ।
आयोजनाबाट ३१ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य पनि राखिएको छ । आयोजनाको निर्माण आर्थिक वर्ष २०८२÷८३ सम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको प्रधानमन्त्रीका विकास सल्लाहकार गजेन्द्र थपलियाले जानकारी दिनुभएको छ ।