काठमाडौं । ताप्लेजुङको दोभान बजारमा लागेको आगो नियन्त्रणमा आएको छ । आज बिहान करिब ९ बजेदेखि सुरु भएको आगलागी दिउँसो करिब १ बजेपछि नियन्त्रणमा आएको ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘३३ जना घरधनीका ४९ वटा घर जलेर नष्ट भएका छन् । जसमा २२ जना डेरावाल समेत आगलागीबाट पीडित बनेका छन् ।’
दुई वटा दमकलको प्रयोग गरेर बस्तीमा लागेको आगो नियन्त्रणमा लिइएको हो । जलेका घरमा रहेको आगो निभाउने काम भइरहेको र थप जोखिम नरहेको उहाँको भनाइ छ ।
बजारमा लागेको आगो बस्ती नजिकै रहेको जंगलमा सल्किएका कारण त्यसलाई पनि नियन्त्रणमा लिने प्रयास भइरहेको खड्काले बताउनुभयो । आगलागीमा परेका पीडितहरुलाई बस्ती नजिकैको खाली ठाउँमा टेन गाडेर बस्ने व्यवस्था मिलाउने तयारी भइरहेको छ ।
आगलागीबाट कति क्षति भयो भन्नेबारे अहिले भन्न सकिने अवस्था नरहेको उहाँको भनाइ छ । पीडितहरुलाई तत्काल बस्न र खानाका लागि व्यवस्थापन गरेपछि क्षतिबारे लगत संकलन गरिने छ
प्रारम्भिक अनुसन्धानको क्रममा विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने भएपनि यसबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
यता राष्ट्रपति विद्यादेवी भण्डारीले ताप्लेजुङको दोभान बजारमा आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले आज एक वक्तव्य जारी गर्दै आगलागी प्रभावितहरुका लागि यथाशीघ्र राहत तथा पुनर्स्थापनाको पहल गर्न सरकारसँग आग्रह समेत गर्नुभएको छ ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । ओलीले आगलागीबाट क्षति पुगेको दोभान बजारको पुनर्निर्माण र पीडितलाई राहत उपलब्ध गराउने पनि बताउनुभयो ।
यसैबिच पुर्वमन्त्री योगेश भट्टराईलेपनि आगलागीबाट भएको भौतिक क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।
आज विज्ञप्ति जारी गर्दै ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका भट्टराईले आगलागी पीडितहरुलाई तत्काल राहत उपलब्ध गराउन र दीर्घकालीन पुनस्र्थापनाका लागि सहयोग उपलब्ध गराउन सरकारसँग मागसमेत गर्नुभएको छ ।