Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रोपाइँपछि कामको खोजीमा धनगढीतिर

रोपाइँपछि कामको खोजीमा धनगढीतिर

  • बुधवार, आषाढ ३१ २०७७

  • 981
    SHARES

  • रोपाइँपछि कामको खोजीमा धनगढीतिर

    कैलारी गाउँपालिका–७ का प्रदीपकुमार चौधरी विगतमा भारत गएर मजदूरी गर्नुहुन्थ्यो । रोपाइँ सकिए लगत्तै हरेक वर्ष उतै गएर पसिना बगाएको अनुभव छ, उहाँसँग ।

    यस वर्ष भने चौधरी भारत नगइ धनगढीमै मजदुरी गरिरहनु भएको छ । ‘कोरोना भाइरस सुरु भइरहेको बेला भारतबाट फर्केर आएँ’ - चौधरीले भन्नुभयो । ‘गाउँमा रोपाइँ सकियो । धनगढी पुगेर अब घर बनाउने काम गरिरहेको छु ।’

    यस्तै, सोही गाउँपालिकाको मोहनपुर गाउँका खोजराम चौधरी पनि धनगढीमै ज्यालादारीको काम गरिरहनु भएको छ । कोरोना महामारीका कारण कामको लागि भारत जान सम्भव नरहेकाले मजदुरी गर्न धनगढी आएको उहाँ बताउनुहुन्छ ।

    ‘चार/पाँच वर्ष भारतमा गएर मजदुरी गरेको छु’, चौधरीले भन्नुभयो । ‘अब तत्काल भारत जान सम्भव छैन । त्यसैले घर खर्च जुटाउन धनगढी आएँ ।’  प्रदीप र खोजराम मात्रै होइन, कामको खोजीमा धेरै युवाहरू अहिले धनगढी आउन थालेका छन् । गाउँघरमा रोपाइँको काम सकिएपछि फुर्सद्को समयमा रुपियाँ कमाउनका लागि उनीहरु धनगढी केन्द्रित हुन थालेका हुन् ।

    रोपाइँ सकिएपछि कमाउनका लागि विगतमा युवाशक्ति प्रायः भारततिर जाने गर्दथे । यो बेला भारत जाने नेपालीहरुको गौरीफन्टा नाकामा लर्को लाग्ने गर्दथ्यो । तर, यो वर्ष नाका बन्द गरिएको छ । यताबाट, भारततर्फ जान दिइएको छैन, बरु भारतमा रहेका नेपालीहरु स्वदेश फर्किनेक्रम जारी रहेको छ । 

    कोरोना प्रभावका कारण बेरोजगारी दर उकालो चढ्ने सम्भावना बढेको बेला स्वदेश फर्किएका युवा कामको खोजीमा सहर पस्न थालेका हुन । रोपाइँ सकिएपछि उनीहरु समूह बनाएर काम खोज्न धनगढीतिर आउन थालेका छन् । जसरी, भारततिर जाने गरेका थिए ।  ‘गुजारा चलाउनका लागि मजदुरी नगरी सुख छैन’, प्रदीपले भन्नुभयो । ‘फरक यत्ति हो, गत वर्षसम्म भारत गएर काम गरियो, यो वर्ष आफ्नै देशमा गर्दैछु ।’

    धनगढीमा ज्यालादारी मजदुरीको काम बाहेक अन्य काम मिल्न मुस्किल रहेको युवाको भनाइ छ । कोरोना भाइरसले अर्थतन्त्र नै तहसनहस पारेका बेला ज्यालादारीको काम पाउन पनि सहज नरहेको उनीहरु बताउँछन् । नियमित काम नपाएपछि कुनै–कुनै दिन कोठामै बस्नु पर्ने बाध्यता पनि आइपर्ने गरेको सुनाउँछन् ।

    कोभिड–१९ को प्रभावले धेरै व्यक्तिको रोजगारी गुमेको छ । सुदूरपश्चिम प्रदेशकामात्रै एक लाखभन्दा बढी मान्छे भारतबाट स्वदेश फर्केका छन् । उनीहरु सबै घरमा बसेका छन् । ‘परदेशबाट फर्केर मेरा सबै भाईहरु घरमै छन्’, रामबहादुर चौधरीले भन्नुभयो । ‘बरु, मजदुरी नै किन नहोस । तर, काम गर्नका लागि उनीहरुलाई धनगढी आउन भनेको छु ।’ 

    खेतीपातीको काम सकेर मजदुरी गर्न आउने बढेपछि निर्माणको कार्यका लागि मजदुर खोज्न खासै समस्या नरहेको घर निर्माणको ठेक्कापट्टाको काम गर्दै आउनु भएका धनगढीका सियाराम चौधरी बताउनुहुन्छ । ‘बरु, पानी परिरहेकाले अहिले नियमित काम हुन सकिरहेको छैन’, उहाँले भन्नुभयो । ‘लकडाउनको क्रममा काम गर्ने कामदार पाउन भने समस्या छैन ।’


    बुधवार, आषाढ ३१ २०७७०३:५४:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij