काठमाडौं । ललितपुर सुनाकोठीबाट प्रहरीले ३० लाख रुपैयाँसहित १७ जना जुवाडेलाई पक्राउ गरेको छ।
शुक्रबार साँझ प्रहरीले ललितपुर–२६ सुनाकोठीस्थित अजय महर्जनको घरमा जुवा खेलिरहेका उनीहरूलाई पक्राउ गरेको हो।
ललितपुर प्रहरी परिसर प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार प्रहरी निरीक्षकसहितको टोलीले ३० लाख ८४ हजार ४ सय रुपैयाँसहित जुवाडेहरूलाई पक्राउ गरेको हो।
उहाँका अनुसार महर्जनको घरको दोस्रो तलामा जुवा खेलिरहेका व्यक्ति पक्राउ परेका हुन्। उनीहरूको साथबाट प्रहरीले १९ बुक तास, १६ थान कौडा, तास खेल्दा प्रयोग हुने क्यारेमको गोटी ५ थान र सिमीको दाना १५० थान बरामद गरेको छ।
पक्राउ पर्नेमा रामबहादुर लामा, प्रकाश भण्डारी, लवकुमार बस्नेत, राकेश महर्जन, दिनेश पुडासैनी, हिटलर श्रेष्ठ, अनिल महर्जन, श्रीकृष्ण खड्का, तुलसीराम महर्जन, सानुकान्छा महर्जन, पूर्ण श्रेष्ठ, विनोदप्रसाद घिमिरे, पूर्णमान माली, सानुकान्छा बस्नेत, राम खत्री, विनोद महर्जन र चिरिकाजी महर्जन रहेका छन्।
उनीहरू सबै ललितपुरका हुन्। उनीहरूलाई हिरासतमा लिएर जुवा ऐन अन्तर्गत कारबाही थालिएको एसएसपी बज्राचार्यले बताउनुभयो ।