काठमाडौँ । स्याङ्जाको कालीगण्डकीमा पहिरो जाँदा एकजनाको मृत्यु भएको छ । तीनजना बेपत्ता भएका छन् ।
कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ को खहरेमा माथिबाट झरेको पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको हो । तीनजना अझै बेपत्ता भएको वडाध्यक्ष चक्रपाणि पाण्डेले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार पहिरोमा पुरिएर पूर्वगाविस अध्यक्ष इमानसिँह रानाको मृत्यु भएको हो । पहिरोमा परेर तीनजना बेपत्ता छन् । बेपत्ता हुनेमा सोही वडाका प्रेमचन्द्र पाण्डे, टीका थापा र गिमानसिँह थापा रहेको वडाध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।
अहिले पहिरोमा पुरिएका व्यक्तिहरुको खोजी भइरहेको छ । स्थानीयले खोजी जारी राखेका छन् । अहिले नेपाली सेनाको टोली पनि घटनास्थल पुगेको पाण्डेले जानकारी दिनुभयो ।