लगातारको बर्षाले विभीन्न ठाँउमा सडक अवरुद्ध हुदा यात्रुहरु बिचवाटोमा अलपत्र परेका छन् । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका २ दाउन्नेमा पहिरो खस्दा सडक अबरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने दाउन्नेमा अविरल वर्षासँगै पहिरो जाँदा आज बिहान तीन बजेदेखि नै यातायात पप्प भएको नवलपरासी पूर्वका प्रहरी प्रमुख एसपी दीपक रेग्मीले जानकारी दिनुभयो ।
‘पहिरो पन्छाउन बिहानैदेखि डोजरको प्रयोग भइरहेको छ,। बिगत ६ घण्टादेखि सडक अवरुद्ध हुँदा पहिरो खसेको दुबैतर्फ सडकमा सवारी साधनको लामो लाइन लागेको छ । पहिरोले केहि गाडिमा क्षति पुर्याए पनि मानविय क्षति भने भएको छैन ।
यसैविच, पहिरो खसेर सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध भएको छ ।
पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान प्रहरी चौकी नजिकै खसेको पहिरोले सडक अवरुद्ध भएको हो । पहिरोसँगै ठूला–ठूला ढुंगा खसेकाले हिजो साँझ देखि सवारी साधन आवतजावत पूर्णरुपमा बन्द भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । पहिरो खुलाउने प्रयास भईरहेको छ ,
यसैविच, जल तथा मौसम विज्ञान विभागले देशको केही भागमा बाढी, पहिरो तथा डुबानको सम्भावना रहेको जनाएको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेशका र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त प्रदेशका नदीहरुमा पानीको बहाव बढ्ने, डुबान हुने तथा पहाडी क्षेत्रमा भूक्षय हुने र पहिरो जाने भन्दै सचेत रहन विभागले आग्रह गरेको छ ।