काठमाडौँ । भारतीय सीमासित जोडिएको सप्तरीको तिलाठी गाउँ हरेक वर्षझैँ यो वर्ष पनि डुबानमा परेको छ । खाँडोखोलामा आएको बाढीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीको बेल्ही टोल जलमग्न भएको छ । बेल्ही टोलका करिब ५० भन्दा बढी घर डुबानमा परेको गाउँपालिकाले जनाएको छ ।
लगातार भइरहेको वर्षाले बेल्हीलाई डुबाएको स्थानीय उपेन्द्र यादवले बताउनु भएको छ । पानीले बेल्ही भन्सार र बजारसमेत डुबानमा परेको छ । सो ठाउँमा रहेको भन्सार कार्यालय, सशस्त्र तथा नेपाल प्रहरीको चौकीसमेत डुबानमा परेको छ । राजविराज–तिलाठी सडकखण्डलाई समेत दुई ठाउँमा बाढीले क्षति पु¥याएको छ ।
भन्सार बजारको पसलहरु डुबानमा पर्दा स्थानीय व्यापारीलाई लाखौँ मूल्य क्षति भएको छ । खाँडोखोलाको बाढीसँगै करिब आठदेखि १० वटा शवसमेत बगेर आएको लौनियाका प्रत्यक्षदर्शी गजेन्द्र मण्डलले बताउनुभयो ।
खाँडोखोलाको बाढीले पार्ने डुबान समस्याकै कारण वर्षौँदेखि तिलाठी र बेल्हीगाउँका कयौँ परिवारको जीवन कष्टकर हुने गरेको छ । पानीको निकास हुन नसक्दा घरघरमा पानी पसेको छ । बर्सेनि करौडौँ रकम खर्च हुँदै आए पनि तिलाठी र बेल्हीको आन्तरिक विवाद तथा भारतको अवरोधका कारण तिलाठी र बेल्ही डुबानबाट बच्न सकेको छैन ।
यसैबिच पहिरो खसेर सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान प्रहरी चौकी नजिकै खसेको पहिरोले सडक अवरुद्ध भएको हो ।
पहिरोसँगै ठूला–ठूला ढुंगा खसेकाले हिजो साँझ देखि सवारी साधन आवतजावत पूर्णरुपमा बन्द भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
वर्षा नरोकिएकाले आज बिहानसम्म पहिरो पन्छाउन नसकिएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी डिल्लीनारायण पाण्डेले बताउनुभयो । सडक खुलाउन अझै केही घण्टा लाग्ने उहाँको भनाई छ । सडक अबरुद्ध हुँदा सयौं सवारी साधन बीच बाटोमै रोकिएका छन् ।
यस्तै अविरल वर्षसँगै आएको बाढी र पहिरोले तनहुँमा ठूलो धनजनको क्षति भएको छ । तनहुँका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले दिएको जानकारी अनुसार आज पनि विहानै देखि राहत र उद्धारमा टोली खटिएको छ । अधिकारीले अहिले पनि वर्षा भइरहेको र खोलाहरु बजारको सतह सम्म आएकाले समयमै उद्धारमा कठिनाई भएको बताउनुभयो ।
तनहुँका धेरै जसो गाउँमा पहिरो गएको र १० जनाको शब भेटिएपनि २ जनाको खोजी कार्य जारी रहेको उहाँको भनाई छ । समयमै घटना भएको ठाउँमा पुग्न नसकिए पनि अहिले सम्म ६१ घरपरिवारलाई राहत पुर्याइएको र शाखा सडकहरु खोलेर भएपनि राहत एवं उद्धारमा सुरक्षा निकाय, स्थानीय तहदेखि स्थानीहरु पनि सक्रिय भएर लागेको अधिकारीले जानकारी दिनुभयो ।
यसैबिच नेपाली कोंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँमा बाढी र पहिरोले ठूलो क्षति पुर्याएको भन्दै सरकारले यस्तो विपद्मा तत्काल उद्धार गर्नुपर्ने बताउनुभएको छ । उहाँले घाईतेहरुको उद्धार र उपचारमा प्रदेश सरकार र स्थानीय तहले काम गरिरहे पनि उद्धारका लागि पार्टीका कार्यकर्तालाई पनि खटिन आग्रह गर्नुभएको छ ।
अहिलेको अवस्थामा कुनै विवाद निकालेर भन्दा सवैले सहमतिमा उद्धारमा लाग्नुपर्ने भन्दै सवै दलका कार्यकर्ता पनि परिचालित हुनुपर्ने उहाँले जोड दिनुभएको छ । उद्धारमा अहिले सवै राजनीतिक दलहरु एक भएर लागेका भएपनि केन्द्रीय सरकारले विशेष खालको राहत प्याकेज कार्यक्रम ल्याउनुपर्ने उहाँले माग गर्नुभयो ।