Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

ओखलढुङ्गाकाे लिखु गाउँपालिकाको विशङ्खेटोल सिल

ओखलढुङ्गाकाे लिखु गाउँपालिकाको विशङ्खेटोल सिल

  • सोमवार, आषाढ २९ २०७७

  • 890
    SHARES

  • ओखलढुङ्गाकाे लिखु गाउँपालिकाको विशङ्खेटोल सिल

    ओखलढुङ्गाको लिखु गाउँपालिकाको एक बस्तीलाई सिल गरिएको छ । लिखु गाउँपालिका वडा नं २ स्थित कुवापानी गाउँभित्रको विशङ्खे टोलमा रहेका २५ घरधुरी सिल गरिएको हो ।

    गएको असार २६ गते कोरोना सङ्क्रमण पुष्टि भएका लिखु गाउँपालिकाका ७२ वर्षीय क्यान्सरपीडित वृद्धलाई थप उपचारका लागि अन्यत्र पठाउन समस्या भएका कारण गाउँ सिल गरिएको लिखु गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिनानाथ चौधरीले बताउनुभयो । क्यान्सरका कारण अवस्था चिन्ताजनक भएपछि काठमाडौँबाट उपचार गराएर गाउँ फर्किएका वृद्धलाई कोरोना पाेजिटिभ भएपछि उहाँलाई उपचारका लागि अन्यत्र पठाउन नसकिएको चौधरीको भनाइ छ ।

    काठमाडौँमै रहँदा स्वाब दिएर गाउँ फर्किएका उनी गाउँ फर्किसकेपछि कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भइसकेपछि सङ्क्रमित वृद्धको कन्ट्याक्ट ट्रेसिङ गर्दा गाउँका अरुले पनि उनीसँग भेटघाट गरेको पाइएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिनुभयो । उनीसँग भेटघाट गरेको पाइएकोले गाउँलाई नै क्वारेन्टाइन बनाएर सिल गर्नुपरेको उहाँको भनाइ छ ।

    हाल गाउँलाई सिल गरिएपछि आवतजावत गर्न प्रतिबन्ध लगाइएको छ । गाउँमा नेपाल प्रहरी र लिखु गाउँपालिकाका नगर प्रहरीले सुरक्षा दिइरहेका छन् । सिल गरिएको विशङ्खेटोलभित्र करिब एक सय जना रहेको लिखु गाउँपालिका वडा नं २ का वडाध्यक्ष रामहरि बुढाथोकीले जानकारी दिनुभयो । आइतबार मात्रै लिखु गाउँपालिकाले सिल गरिएको गाउँमा राहत वितरण गरेको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चौधरीका अनुसार ३० केजीका दरले एक बोरा चामल, दाल, तेल, नुन, चिनी लगायतका खाद्यसामग्री वितरण गरिएको छ ।

    अवस्था चिन्ताजनक भएको भनिएका क्यान्सरपीडित वृद्धलाई कोरोना सङ्क्रमण भएपछि कमाण्ड पोष्टले गाउँमै राख्ने निर्णय गरेको थियो । उनलाई परिवारले अवस्था चिन्ताजनक भएको भन्दै गाउँ फर्काएका थिए । सङ्क्रमित वृद्धको पुनः पीसीआर परीक्षण गर्ने र पुनः कोरोना पोजिटिभ आएमा थप उपचारका लागि सोचिने प्रजिअ पौडेलको भनाइ छ । सिल गरिएको क्षेत्रमा असार ३१ गते पीसीआर गर्ने तयारी गरिएको छ ।

    सो क्षेत्रका सम्भावित जोखिममा रहेकाको पीसीआर गरिने प्रजिअ पौडेलले बताए । लिखु गाउँपालिकामा हाल पाँच जना सङ्क्रमित भेटीएका छन् । सङ्क्रमितमध्ये तीन जनालाई ओखलढुङ्गा सदरमुकामस्थित ओखलढुङ्गा सामुदायिक अस्पतालमा उपचार गराइरहेको छ भने एक जना कोरोना सङ्क्रमणमुक्त भइसकेका छन् ।


    सोमवार, आषाढ २९ २०७७०४:२६:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij