काठमाडौं । आगामी चैतमा नेपाल, ओमान र अमेरिकाबीच तय भएको आइसिसी विश्वकप लिग–२ को त्रिकोणात्मक क्रिकेट सिरिज स्थगित भएको छ ।
आगामी चैत ६ देखि १५ गतेसम्म ओमानमा हुने भनिएको सो सिरिजका लागि ७ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । जसका लागि ओमानले क्वारेन्टाइन खर्च आइसिसीलाई तिर्न प्रस्ताव गर्दै आएको थियो ।
तर, आइसिसीले सो भार आफूले नव्यहोर्ने बताएपछि सिरिज स्थगित भएको नेपाल क्रिकेट संघ (क्यान)निकट स्रोतले जनाएको छ ।
यद्यपि, ओमानको क्रिकेट संघ र आइसिसीले भने यस विषयमा कुनै पनि औपचारिक जानकारी दिएका छैनन् ।
सिरिजको तयारीका लागि भनेर पहिलो चरणमा २१ खेलाडी नेपाली टोलीको बन्द प्रशिक्षणमा छन् ।
यसैबीच, अमेरिकाले पनि ओमान भ्रमणको लागि बोलाएको ४४ सदस्यीय टोलीको बन्द प्रशिक्षण रद्द गरेको छ ।