काठमाडौँ – अनलाइन टीभी पत्रकार संघले युट्युवमा राम्रो काम गरेका चार जनलाई अवार्ड प्रदान गरेको छ ।
इन्द्रेणी अनलाइन टीभीका कृष्ण कंडेललाई प्रथम ओट्जा इन्टरटेनमेन्ट अवार्ड’ प्रदान गरिएको छ भने तात्तातो खबर अनलाइन टिभिका भाग्य न्यौपानेलाई प्रथम ओट्जा पपुलर अवार्ड प्रदान गरिएको छ ।
त्यसैगरी हेर्ने कथा अनलाइन टीभीकी विद्या चापागाईलाई ‘ओट्जा इस्यू अवार्ड’ तथा क्यानडा नेपाल अनलाइन टीभीका रौनक निरौलालाई ‘प्रथम ओट्जा इथिकल अवार्ड’ दिइएको छ ।
संघको पहिलो वार्षिकोत्सवको अवसरमा अरु केही अनलाइन टीभी पत्रकारहरुलाई राम्रो काम गरेको र अझ राम्रो काम गर्न प्रोत्साहनका लागि भन्दै प्रशंसापत्र पनि प्रदान गरिएको संघका अध्यक्ष जीवन भण्डारीले जानकारी दिनुभयो ।
प्रशंसा पत्र पाउनेहरुमा सुनौलो नेपाल अनलाइन टीभीका मोहनराज शर्मा, सप्तरंगी संसार अनलाइन टीभीका रेशम बोहरा, नयाँ नयाँ न्युज नेपाल अनलाइन टीभीका शिशिर भण्डारी, नेपाल अपडेट अनलाइन टीभीका मोहन बस्नेत, रमाइलो छ टीभीका उत्सव रसाइली लगायत रहेका छन् ।
कार्यक्रममा पूर्वमन्त्री तथा नेपाल प्राध्यापक संघका पूर्व अध्यक्ष भीमसेनदान प्रदान, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, संचारकर्मी रवि लामिछाने, डा. सुरेन्द्र केसी लगायतले प्रभावकारी प्रचार माध्यम भए पनि अनलाइन टीभी क्षेत्रलाई सुद्धीकरण र सुदृढीकरण गर्न संघले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो ।