Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

तारकेश्वरमा देखिएको बर्डफ्लु नियन्त्रणमा

तारकेश्वरमा देखिएको बर्डफ्लु नियन्त्रणमा

  • शुक्रवार, माघ २३ २०७७

  • 829
    SHARES

  • तारकेश्वरमा देखिएको बर्डफ्लु नियन्त्रणमा

    काठमाडौँ – काठमाडौँको तारकेश्वर नगरपालिकामा देखिएको बर्डफ्लु सङ्क्रमण नियन्त्रणमा आएको छ ।

    माघ १६ गते तारकेश्वर नगरपालिका–७ साङ्लेखोला, फुटुङका स्थानीय कृषकले पालेका टर्की र हाँसमा बर्डफ्लु भाइरस सङ्क्रमण देखिएपछि थियो ।

    उक्त स्थानमा सङ्क्रमण देखिएपछि अन्यत्र फैलन नदिन थप सतर्कता अपनाएको र हाल उक्त सङ्क्रमण नियमन्त्रणमा आइसकेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरे सङ्क्रमण देखिएका क्षेत्र वरपरका पशु नष्ट गरी सो क्षेत्रलाई सुरक्षित गर्ने काम गरिएको बताए ।

    ‘हामीले उक्त क्षेत्रलाई सिल गरेर दैनिक निरीक्षण गर्दै आएका छौँ, सोही स्थानमा थप सङ्क्रमण देखिएको छैन’, उनले भने ।

    रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा बर्डफ्लु रोग पुष्टि भएपछि उक्त क्षेत्रमा रहेका करिब दुई हजार ३०० वटा घरपालुवा पंक्षी तथा रोग सार्न सक्ने अन्य वस्तुसमेत नष्ट गरेको थियो । एक हजार ८६५ हाँस, ६२२ बट्टाई, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरेको थियो ।

    पशु सेवा विभागले रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिन सङ्घ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायलाई परिचालन गरेको थियो । पशु सेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकाल नियमितरुपमा अनुगमन गर्ने, शङ्कास्पद नमूना परीक्षण गर्ने र अध्ययनलगायतका आवश्यक काम भइरहेको बताउँछन् ।

    विभागले पंक्षी तथा पंक्षीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्यरुपमा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिनुपर्ने, फार्म परिसरमा जैविक सुरक्षाका विधि अवलम्बन गर्नुपर्ने, फार्म परिसरमा नियमितरुपमा निःसङ्क्रमण गर्न तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्ने, पंक्षी फार्म वा अन्य पंक्षीपालन वा विक्रिस्थलमा अस्वाभाविक रुपमा पंक्षी विरामी परेमा वा मरेमा तत्काल नजिकको पशु सेवाका निकायमा सूचना गर्नसमेत आग्रह गरेको छ ।

    विभागले यसअघि नै भारतका केही प्रदेशमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएसँगै तराईका क्षेत्रमा उच्च सतर्कता अपनाउँदै सीमानाका बन्द गरिसकेको छ । विभिन्न सीमानाका हुँदै आयात हुने कुखुराजन्य वस्तुको आयातमा रोक लगाएको हो ।


    शुक्रवार, माघ २३ २०७७०४:४५:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij