काठमाडौँ । सरकारले पहिरोको जोखिममा रहेका ७ सय ४ घर परिवारलाई तत्काल स्थानान्तरण गर्नुपर्ने जनाएको छ । मुलुकमा मनसुन सुरु भएसँगै पहिरोको उच्च जोखिममा रहेका घर परिवारलाई सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था देखिएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिनुभएको छ ।
प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा निर्देशक पोखरेलले १४ जिल्लाका ११ हजार घर परिवार पहिरोको उच्च जोखिममा रहेको र तीमध्ये ७ सय ४ घर परिवारलाई तत्काल सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्ने जरुरी रहेको बताउनुभयो ।
पहिरोको उच्च जोखिममा सिन्धुपाल्चोक, गोरखा, रसुवा रहेको बताउँदै पोखरेलले जोखिममा रहेका कतिपय परिवार र गाउँले थातथलो छोड्न नमान्दा समस्या उत्पन्न भएको र बताउनुभयो । त्यस्तै, सीमामा भारतले निर्माण गरेको तटबन्धका कारण बाढीको उच्च जोखिममा प्रदेश २ रहेको पोखरेलले बताउनुभयो । उहाँले रौतहट बाढी र डुबानको उच्च जोखिमको पहिलो नम्बरमा रहेको जानकारी दिनुभयो ।
बाढी र पहिरोको जोखिम बढ्नुको कारण कृत्रिम रहेको पोखरेलको भनाइ छ । घर बनाउँदा नक्सा पास गर्नुपर्छ तर ठूला सडक निर्माण गर्दा नक्सा पास गर्नु नपर्ने भएकाले बाढी र पहिरोको जोखिम कृत्रिम कारणले भएको बताउँदै बाढी र पहिरोमा परेर सोमबार बिहानसम्म ८५ जनाको मृत्यु भइसकेको जानकारी दिनुभयो ।
नेपालमा मनसुन सुरु भएको पहिलो ३० दिनमा उच्च जोखिम हुँदै गरेको सरकारी अध्ययनले देखाएको छ । सरकारी अधिकारीहरूका अनुसार पछिल्लो १० वर्षको अध्ययन गर्दा मनसुन सुरु भएको पहिलो ३० दिनमा ठूलो क्षति भएको छ । यसवर्ष पनि मनसुन भन्दा पहिले नै उच्च वर्षा भएकाले नै जनधनको ठूलो क्षति भएको हो ।