काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बर्डफ्लु नियन्त्रणका लागि आवश्यक तयारी गरिसकेको बताएको छ । बर्डफ्लु नियन्त्रणका लागि ‘ र्यापिड रेस्पोन्स टीम’ तयार गरेर सतर्क रुपमा बसेको मन्त्रालयका सहसचिव डा.विमलकुमार निर्मलले बताउनुभएको छ ।
सहसचिव निर्मलले काठमाडौंको तारकेश्वर नगरपालिका–७ साङ्खोला, फुटुङमा नमुना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएपछि मन्त्रालयले देशैभरबाट नमुना संकलन गरी परीक्षणको दायरा बढाएको बताउनुभयो । कुनै पनि फार्ममा बर्डफ्लु पुष्टि भएमा तत्काल ¥यापिड रेस्पोन्स टीमले कुखुरा नष्ट गर्ने काम गर्ने पनि उहाँले बताउनुभयो ।
नेपालमा खासगरी टर्की, हाँस र लोकल कुखुरामा बर्डफ्लु देखिएको छ । यस्तै अहिले देखिएको बर्डफ्लुबाट आत्तिनुपर्ने अवस्था नरहेको पनि सहसचिव निर्मलले प्रष्ट पार्नुभएको छ। अहिले नेपालमा देखिएको बर्डफ्लुको भाइरस एच फाइभ एन एट रहेको पनि बताउनुभयो ।
जुन भाइरस विगतमा देखिएको एच फाइभ एन वान भन्दा कम खतरा रहेको उहाँले बताउनुभयो