Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पहिरोमा पुरिएर ६ को मृत्यु, पाँच बेपत्ता

पहिरोमा पुरिएर ६ को मृत्यु, पाँच बेपत्ता

  • सोमवार, आषाढ २९ २०७७

  • 798
    SHARES

  • पहिरोमा पुरिएर ६ को मृत्यु, पाँच बेपत्ता

    तनहुँ । अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँमा मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । पहिरोले घर पुरिँदा व्यास नगरपालिका–९ माँझफाँटमा चार जना, ऋषिङ गाउँपालिका–८ पल्ट्याङमा एक जना र म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    पहिरोले घर पुरिँदा व्यास नगरपालिका–९ माँझफाँटका ४० वर्षीया कमला थापा, उनका छोरा २४ वर्षीय मनोज र छोरी २१ वर्षीया अञ्जनाको निधन भएको प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो । कमलाका २० वर्षीय छोरा राजेश भने बेपत्ता छन् । कमलाका पति केशरबहादुरलाई भने उद्धार गरी उपचारका लागि अस्पताल ल्याउने तयारी गरिएको छ ।

    सोही ठाउँकै ७० वर्षीया मैतकुमारी घर्तीको पनि पहिरोले पुरिएर मृत्यु भएको छ । त्यस्तै पहिरोले पुरिएर म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडा बस्ने १७ वर्षीया लक्ष्मी विकको मृत्यु भएको छ । ऋषिङ गाउँपालिका–८ पल्ट्याङमा पहिरोले पुरिएर बेपत्ता भएकामध्ये एक जनाको शव फेला परेको छ भने बाँकी चार जना बेपत्ता छन् । बेपत्ताको खोजी कार्य भइरहेको ऋषिङ गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिनुभयो ।

    स्थानीय अनबहादुर थापाको घर पहिरोले पुरिँदा जेठो छोरा ३० वर्षीय भेषबहादुर थापा, निजकी श्रीमती २९ वर्षीया नानुमाया, छोरी ५ वर्षीया अमिषा थापा, अनबहादुरको कान्छो छोरा २२ वर्षीय महादेव थापा र निजकी श्रीमती १९ वर्षीया मनिसरा थापा बेपत्ता छन् । सोही ठाउँकै ६० वर्षीय ज्योतिमाया थापाको भने उद्धारपछि उपचार भइरहेको छ । रासस


    सोमवार, आषाढ २९ २०७७१२:५४:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij