Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

अन्तरदेशीय प्राकृतिक ग्यास पाइपलाइन बिछ्याउन दोस्रो चरणको अध्ययन शुरू

अन्तरदेशीय प्राकृतिक ग्यास पाइपलाइन बिछ्याउन दोस्रो चरणको अध्ययन शुरू

  • शनिवार, माघ १० २०७७

  • 637
    SHARES

  • अन्तरदेशीय प्राकृतिक ग्यास पाइपलाइन बिछ्याउन दोस्रो चरणको अध्ययन शुरू

    काठमाडौं । भारतको गोरखपुरदेखि नेपालको रुपन्देहीको सुनौलीसम्म अन्तरदेशीय प्राकृतिक ग्यास लिक्युफाइड नेचुरल ग्यास पाइपलाइन बिछ्याउन दोस्रो चरणको अध्ययन सुरु भएको छ ।

    नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले मुलुकमा रासायनिक मलको कारखाना सञ्चालन गर्न चाहिने कच्चा पदार्थको रूपमा रहेको प्राकृतिक ग्यास आयात गर्न ग्यास पाइप बिछ्याउन अहिले निगमले दोस्रो चरणको अध्ययन सुरु गरेको जानकारी दिनुभएको छ ।

    यसअघि नेपाल आयल निगम र भारतीय आयल निगमले संयुक्त रूपमा अध्ययन गरी सोको प्रतिवेदन निगमलाई बुझाइसकेको छ । पहिलो चरणको अध्ययन प्रतिवेदनले मल कारखानामा प्राकृतिक ग्यासको प्रयोगबारे स्पष्ट गर्न नसकेकाले दोस्रो चरणको अध्ययन सुरु गरिएको भट्टराईले बताउनुभयो ।

    छ महिनाभित्र प्रतिवेदन तयार गर्ने लक्ष्यसहित दोस्रो चरणको अध्ययन निगमले गरिरहेका छ । सबै दृष्टिले उपयुक्त देखिएको अवस्थामा प्रस्तावित यो पाइपलाइन निर्माणमा आयल निगम लगानी गर्न तयार रहेको उहाँले स्पष्ट पार्नुभयो ।

    यसअघि गत वर्षको पुस २७ र २८ गते भारतको नयाँ दिल्लीमा भएको नेपाल–भारत पेट्रोलियम तथा ग्यास जोइन्ट वर्किङ ग्रुपको पहिलो बैठकमा नेपाल–भारतबीच अन्तरदेशीय प्राकृतिक ग्यास पाइपलाइन बिछ्याउनेबारे अध्ययन गर्न दुई मुलुकबीच सहमति भएको थियो ।

    पाइपलाइन बिछ्याउने कार्यलाई अगाडि बढाउन भारतले नेपालसँग ‘माग प्रक्षेपण’ माग गरेको छ । ‘माग प्रक्षेपण’का साथै नेपालमा प्राकृतिक ग्यास बजारको सम्भावित अवस्था र भविष्यबारे समेत भारत नेपालसँग स्पष्ट हुन खोजेको उहाँले बताउनुभयो । माग प्रक्षेपणसँगै प्रस्तावित पाइपलाइन निर्माणको मोडालिटी लागत लगायत बारे अध्ययन गरी पाइपलाइन निर्माण अगाडि बढाइने छ ।

    विगत लामो समयदेखि नेपालमा रासायनिक मलको कारखाना स्थापना गर्ने कुरा उठे पनि त्यसले अहिलेसम्म सार्थकता पाउन सकेको छैन । रासायनिक मलको कारखाना स्थापना गर्न लगानी बोर्डले समेत अहिले अध्ययन गरिरहेको छ ।

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव तथा प्रवक्ता डा.श्रीराम घिमिरेले मुलुकमा रासायनिक मल कारखाना स्थापना गर्न विभिन्न प्रविधिबारे छलफल भइरहेको जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, ‘‘प्राकृतिक ग्यास, कोइला र बिजुलीको माध्यमबाट रासायनिक मलको उत्पादन गर्न सकिन्छ ।

    यसमध्ये नेपालमा रासायनिक मलको कारखाना स्थापना गर्न हरेक कोणबाट कुन प्रविधि मुलुकका लागि उपयुक्त र लाभदायक हुन सक्छ, त्यसबारे मन्त्रालयले छलफल अगाडि बढाएको छ ।’’ बिजुलीबाट रासायनिक मल उत्पादन सबभन्दा महँगो पर्छ भने प्राकृतिक ग्यास सबभन्दा सस्तो पर्न आउँछ ।

    यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।


    शनिवार, माघ १० २०७७०६:३९:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij