दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका १, नयाँगाउँमा शनिबार राति पहिराले एउटा घर बगाएको छ । दुई दिनदेखि परेको अविरल वर्षासँगै आएको पहिराले मुरली ढकालको घर बगाएको हो ।
ढकालका परिवार घरभित्रै रहेका बेला पहिरो आएपछि उनीसहित पाँचजना सामान्य घाइते भएको स्थानीय विशाल ढकालले जानकारी दिनुभयो । पहिराले घर बगाएपछि स्थानीयले उनीहरुको उद्धार गरेका थिए ।
पहिराले घर बगाएपछि मुरलीसहित उनकी पत्नी, दुई छोरा र एक छोरीले सोही ठाउँभन्दा अलि माथि रहेको छविराज ढकालको घरमा आश्रय लिएका छन् ।
इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदीश रेग्मीले पहिरोका कारण घर बस्न नमिल्ने गरी क्षति भएको जानकारी दिनुभयो । रासस