काठमाडौं । संखुवासभाको सिलिचोङ गाउँपालिका १ मा गएराति गएको पहिरोमा परि बेपत्ता भएकाहरुको उद्धारमा खटिएका एक जनाको मृत्यु भएको छ ।
नौ घर पुर्ने गरी खसेको पहिरोमा ११ जना बेपत्ता भएका छन् । सोही स्थानमा पहिरोमा परेकाहरुको उद्धारमा खटिएका २५ वषीय मदन राईको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय संखुवासभा डीएसपी नवराज मल्लका अनुसार बेपत्ताको खोजीकार्य जारी छ ।
जिल्ला सदरमुकामा विभिन्न स्थानमा पनि पहिरोले क्षति पु¥याएको छ । ठाउँठाउँमा पहिरो जाँदा उद्धारकार्यमा टोली परिचालन गर्नसमेत समस्या भएको डीएसपी मल्लले बताउनुभयो ।
बेपत्ता ११ जनाको पहिचान खुल्यो
पहिरोमा हराइरहेकाहरु सबैको पहिचान खुलेको छ । पहिरोले आठ घर बगाएको छ भने ११ जना सम्पर्कविहीन छन् । चार जनालाई स्थानीयवासीले जिवितै उद्धार गरेका छन् ।
प्रहरी नायब उपरीक्षक नवराज मल्लका अनुसार पहिरोमा राममान राई, हस्तीकुमारी राई , एन्जीला राई, नम्रता राई, गोरीमाया राई, प्रकृति राई, जुद्धबहादुर राई, उत्तरकुमारी राई, नरमाया राई, हर्कधन राई र आइतमाया राई हराइरहेका छन् ।
स्थानीय बासिन्दा हस्तमान राईका अनुसार पहिरोमा परेर घाइते भएका गोवासिंह राई, भीमसरी राई, फुलमाया राई र भीमबहादुर राईलाई सकुशल उद्धार गरिएको छ । अविरल वर्षापछि आज बिहान गएको पहिराले सिसुवाखोलाको बासिन्दा गाउँ बगाएको हो ।