काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले आर्थिक वर्ष २०७७/८८ को मौद्रिक नीति उत्पादनशील क्षेत्रमा केन्द्रित हुनुपर्ने बताएको छ । महासंघले राष्ट्र बैंकलाई सुझाव पेश गर्दै आर्थिक क्रियाकलाप विस्तारसँगै आयात बढ्ने प्रवृत्ति कायमै रहने देखिएकोले बाह्य क्षेत्र स्थायित्वमा पर्नसक्ने प्रभावलाई समेत ध्यानमा राखी मौद्रिक व्यवस्थापन गर्न सुझाव दिएको छ ।
लघु, घरेलु तथा साना उद्योग संचालनमा प्रयोग गरिने नविनतम प्रविधिका मेशिन आयात गर्दा लाग्ने १ प्रतिशत भन्सार करबाहेक अन्य कर पूर्णरुपमा छुट दिइनु पर्ने, कोभिड–१९ का कारणले बैंकको अल्पकालीन व्याजदरमा उतारचढाव आउने भएकाले ब्याजदर स्थायित्व कायम गर्नेतर्फ मौद्रिक नीतिको जोड रहनुपर्ने सुझाव दिएको छ ।
कृषिमा न्यूनतम १० प्रतिशत तथा उर्जा र पर्यटनमा १५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने व्यवस्थालाई कायम राख्दै लघु, घरेलु तथा साना उद्योगमा पनि १५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था कायम गर्नुपर्ने, विपन्न वर्ग कर्जा कार्यक्रमलाई लघु र घरेलु उद्यमसँग आवद्ध गराइ लघु तथा घरेलु उद्यममा पुँजी पहुँच अभिवृद्धि गर्नु पर्ने महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले बताउनुभयो ।