काठमाडौं । माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने भन्दै ट्याक्सी व्यवसायीहरुले बुधबार (आज) दोस्रो दिन पनि उपत्यकाका विभिन्न ठाउँमा प्रदर्शन गरेका छन् ।
ट्याक्सी चालक तथा व्यवसायीहरुले मंगलबारदेखि आन्दोलन थालेका हुन् । उनीहरुले काठमाडौंको मीनभवनमा रहेको यातायात व्यवस्था विभागको कार्यालयअघि आफ्ना ट्याक्सीहरु सडकमा तेर्स्याएर विरोध जनाइरहेका छन् ।
उनीहरुले ‘रातो नम्बर प्लेटमा कोरोना नसर्ने, कालो नम्बर प्लेटमा मात्र सर्ने, २४ अर्ब कर तिरेर पनि हामीले केही पाएनौं, ट्याक्सी त बन्द गरौंँला सरकार तर हाम्रो परिवार कस्ले पाल्छ’ लगायतका विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर विरोध गरिरहेका छन् ।
कोरोना भाइरसको कारण देखाउँदै लामो समयदेखि आफूहरुको दैनिक कमाइ खाने सवारीसाधन चलाउन नपाउँदा मर्कामा परेको भन्दै आन्दोलन गर्नुपरेको उनीहरुको भनाइ छ । ट्याक्सी व्यावसायीले माग पुरा नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन् ।
उनीहरुले आफूहरुलाई ट्याक्सी चलाउन नदिए उचित राहतको व्यवस्था गर्न सरकारसँग माग गरिरहेका छन् ।