काठमाडौं । कोरोना संक्रमणका कारण विगत १० महिनादेखि बन्द काठमाडौं महानगरपालिकाभित्रका विद्यालय माघदेखि खुल्ने भएका छन् ।
उपत्यकामा कोरोना संक्रमण कम हुँदै गएको तथा उपत्यकाका धेरै नगरपालिकाले भौतिकरुपमै विद्यालय संचालन गर्न थालेपछि माघदेखि विद्यालय खोल्न अनुमति दिने निचोडमा महानगरपालिका पुगेको हो ।
काठमाडौं महानगरपालिकाका शिक्षा प्रमुख नमराज ढकालले माघदेखि सबै विद्यालयले स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गरी संचालन गर्न पाउने बताउनुभएको छ ।
यसबीचमा सरकारले विद्यालय खोल्ने नयाँ नीतिगत निर्णय गरेमा सोही मितिबाट विद्यालय संचालनमा आउने उहाँले जानकारी दिनुभयो ।
सरकारले कुनै निर्णय नगरेमा माघ १ गते आफूहरुले यस विषयमा निर्णय दिने जानकारी शिक्षा प्रमुख ढकालले बताउनुभयो ।