एजेन्सी । प्रिमियर लिग लिडर लिभरपुल एफए कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ ।
शुक्रबार राति भएको तेस्रो चरणको खेलमा एस्टन भिल्लालाई ४–१ ले पराजित गर्दै लिभरपुलले चौंथो चरणमा स्थान बनाएको हो ।
युथ टिम मैदान उतारेको एस्टनविरुद्ध लिभरपुलले सुरुवातबाटै पकड जमाएको थियो । खेलको चौंथो मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाए ।
तर, खेलको ४१ औं मिनेटमा एस्टनका बारीले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । दोस्रो हाफमा भने लिभरपुलले एकतर्फी खेल पस्कियो ।
खेलको ६० औं मिनेटमा जर्जियानो विज्ननाल्डमले गोल गर्दै लिभरपुललाई २–१ को अग्रता दिलाए । ६३ औं मिनेटमा मानेले व्यक्तिगत दोस्रो गोल गर्दा लिभरपुल ३–१ ले अघि रह्यो । त्यसपछि खेलको ६५ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई ४–१ को जित दिलाए ।
यू–२३ र एकेडेमीका खेलाडीले भरिएको एस्टनले पनि थप गोलको मौका पाएको थियो । तर, सदुपयोग गर्न सकेनन । फस्ट टिमका खेलाडीलाई कोरोना देखिएपछि एस्टनले युवा टिम खेलाएको थियो ।
एफए कप अन्तर्गत नै अर्को खेलमा उल्भ्सले किस्टल प्यालेसलाई १–० ले हराएको छ । उल्भ्सको जितमा एडमा ट्राओरेले निर्णयक गोल गरे ।