काठमाडौं । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी जेठमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले जेठमा परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो । बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले २०७८ जेठमा परीक्षा सञ्चालन गर्न सकिने बताउनुभयो ।
कोरोना भाइरसका कारण गत वर्ष एसइई सञ्चालन हुन सकेन । त्यो अवस्था दोहोरिन नदिन बेलैमा तयारी तीव्र बनाउनुपर्नेमा अध्यक्ष पौडेलको जोड छ ।
एसइई ०७७ मा सहभागि हुनका लागि बोर्डले आवेदन आह्वान गरेको छ । परीक्षामा सहभागि हुन चाहने विद्यार्थीले १६ पुसदेखि २१ माघसम्ममा फाराम भर्नुपर्ने पौडेलले जानकारी दिनुभयो ।
सम्बन्धित विद्यालयले आफ्ना विद्यार्थीको नामथर, जन्ममिति, आमाबाबुको नाम रुजू गरेर माघभित्र रजिस्ट्रेशन शूल्कसहित शिक्षा विकास तथा समन्वय इकाईमा बुझाउनु पर्नेछ । रजिस्ट्रेसन शुल्क प्रतिविद्यार्थी तीन सय रुपैयाँ निर्धारण गरिएको छ ।
विगतमा साउनमै फाराम खुले पनि यसपटक कोभिड–१९ महामारीका कारण पुसमा सरेको हो ।