Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

आज उधौली, ज्यापु दिवस र तमु ल्होसार मनाइँदै

आज उधौली, ज्यापु दिवस र तमु ल्होसार मनाइँदै

  • बुधवार, पौष १५ २०७७

  • 1.9K
    SHARES

  • आज उधौली,  ज्यापु दिवस र तमु ल्होसार मनाइँदै

    काठमाडौं । आज धान्यपूर्णिमा । किरातहरुले उधौली, नेवारहरुले योःमरी पुन्ही र गुरुङ समुदायले ल्होसार पर्व आ–आफ्ना रीतिरिवाज र संस्कृतिअनुसार मनाउँदैछन् । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बूहरूको चासोक तङ्नाम धुमधामसँग मनाइँदैछ ।

    तीन दिनअघि शुुरु भएको पर्वको पहिलो दिन लिम्बूहरुले चासोक तङ्नाम पर्व मनाएका थिए भने आज संयुक्तरूपमा सबैले उधौली सकेला अर्थात् किरात पर्व मनाउँछन् । किरात संस्कृतिका बारेमा अनुसन्धानरत कीर्तिकुमार दुमी राईले किराँतभित्रका जातजातिले यो पर्वलाई फरक फरक नाम दिए पनि समग्रमा उधौलीका नामले चिनिने बताउनुभयो ।

    किरात समुदायले आपूmले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङ्नाम भन्छन् । यसैगरी आजै नेवार समुदायले योमरी पुन्ही र गुरुङ समुदायले तमु ल्होसार मनाउँदै छन् ।

    देशभरका नेवार समुदायले घरघरमा योमरी पकाएर यो पर्व मनाउँदै छन् । नेपाली भाषामा यो को अर्थ मनपर्ने र मरी को अर्थ रोटी हो । नेवास समुदायले हेरेक वर्ष मंसिर शुक्ल पूर्णिमाका दिन बिशेष प्रकारको रोटी योमरी पकाएर खाई यामरी पुन्ही मनाउँछन् ।

    यस्तै गुरुङ समुदायले आज तमु ल्होसार मनाउँदैछन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउने गरिन्छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिने भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायका मानिसको विश्वास छ । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ ।

    राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना

    राष्ट्रपति विद्यादेवी भण्डारीले पर्वको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

    यस्ता चाडपर्वले इष्टमित्र तथा आफन्तबीच भेटघाट एवं मेलमिलापको अवसरसमेत प्रदान गर्ने भएकाले यसबाट पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न महत्वपूर्ण योगदान पुग्ने देखिने जनाउँदै उहाँले यस्ता चाडपर्वबाट नेपालका विविध भूगोल, संस्कृति, जातजाति र भाषाभाषीका जनताबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

    यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले पनि यी सबै पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

    यस्तै, प्रधानमन्त्री केपी शर्मा आलीले यी पर्व बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक मुलुकको मौलिक पुँजी भएको बताउनुभएको छ । शुभकामना दिँदै उहाँले एकता र सहिष्णुताको यस पुँजीलाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि धान्य पूर्णिमाका अवसरमा सबैमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

    उहाँले शुभकामना सन्देशमार्फत सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न सुन्दर मुलुक नेपालमा रहेका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जातजातिको आ–आफ्ना विशिष्ट संस्कृति र परम्परा नेपालीको विशिष्ट पहिचान रहेको उल्लेख गर्नुभएको छ ।


    बुधवार, पौष १५ २०७७०६:२१:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij