Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

आज विवाह पञ्चमी पर्व, श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी मनाइँदै

आज विवाह पञ्चमी पर्व, श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी मनाइँदै

  • शनिवार, पौष ४ २०७७

  • 1.1K
    SHARES

  • आज विवाह पञ्चमी पर्व, श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी मनाइँदै

    प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी देशभर मनाइँदैछ ।
    त्रेता युगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो ।
    मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ । तर कोरोना भाइरसको महामारीले छोटो विधिबाट महोत्सव मनाइँदैछ । कोरोना भाइरसको महामारीले जनकपुरधाममा यो वर्ष विगतजस्तो उल्लास देखिएको छैन । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नुभएअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।

    त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारेको बताइन्छ । शिवधनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ ।

    पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रङ्गभूमिमा पुुर्‍याइन्छ । त्यस्तै जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमा लगिन्छ ।
    रङ्गभूमिमा स्वयंवर विधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याइन्छ । त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ ।
    यस वर्ष भने कोरोना महामारीका कारण जनकपुरधाममा गरिने विवाह महोत्सव कार्यक्रमसमेत संक्षिप्त विधिबाट भौतिक दूरी कायम गरी मनाइने जनाइएको छ ।
    यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले माता सीता र भगवान् रामको शुभविवाह सम्पन्न भएको विशेष दिनका सम्झनामा मनाइने विवाहपञ्चमीका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ ।

    नेपाली समाज ऐतिहासिककालदेखि नै सहिष्णुता र सभ्यताको केन्द्र रहेको जनाउँदै राष्ट्रपतिले मिथिला क्षेत्रको सांस्कृतिक धरोहरका रूपमा रहेको विवाहपञ्चमी पर्वले सम्पूर्ण नेपालीमा राष्ट्रिय एकताको भावना जागृत गरी समाजमा विद्यमान सद्भाव र सहिष्णुतालाई थप सुदृढ बनाउन सहयोग पुर्याउने विश्वा्स व्यक्त गर्नुभयो ।


    शनिवार, पौष ४ २०७७०९:३६:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij