काठमाडौँ । नेपाल जेसीजको महाधिवेशन आजदेखि रुपन्देहीको भलवारीमा हुन लागेको छ । हरेक बर्षको डिसेम्बरमा हुने महाधिवेशनले अंग्रेजी नयाँ बर्षका लागि एक बर्षे कार्यसमिति समेत चयन गर्नेछ । कोरोना महामारी थप फैलिने डरले यस पटक महाधिवेशनको शैली फरक बनाइएको छ ।
उद्घाटन समारोहमा सवै केन्द्रीय समिति र शाखाका अध्यक्षहरु मात्रै सहभागी हुने भएका छन् भने मतदानका बेलामा सवै शाखालाई छुट्टा छुट्टै समय तोकिएको छ । तोकिएको समयमा मात्रै महाधिवेशनस्थलमा पुगेर मतदान गर्नुपर्ने व्यवस्था गरिएको म्याग्दी जेसीजका अध्यक्ष तथा राष्ट्रीय उपाध्यक्ष पदका उमेदबार सुजन बरुवालले जानकारी दिनुभयो ।
केन्द्रीय कार्यसमिति चयनका लागि झण्डै १७ सय भन्दा बढीले मतदान गर्न पाउने छन् । सदस्य संख्याका आधारमा शाखा अध्यक्षले दुईभन्दा बढी मत हाल्न पाउनेछन् । देशभरी १५६ शाखा रहेका छन भने ती सवै शाखाका कार्यसमितिका सवैले केन्द्रीय समिति चयनका लागि मतदान गर्ने व्यवस्था रहेको छ । हरेक शाखामा ११ जनाको कार्यसमिति हुन्छ भने केन्द्रमा २१ जनाको कार्यसमिति हुन्छ ।
शाखामा अध्यक्ष, दुई कार्यकारीणी उपाध्यक्षसहितको कार्यसमिति हुने व्यवस्था रहेको छ भने केन्द्रमा अध्यक्ष, चार राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष र १२ राष्ट्रिय उपाध्यक्ष निर्वाचित हुनेछन् । राष्ट्रिय समितिका लागि महासचिव, कानुनी सल्लाहकार, कोषाध्यक्ष मनोनित हुनेछन भने निवर्तमान अध्यक्ष पदेन सदस्य हुनेछन् ।
नेपाल जेसीजको बर्ष २०२१ का लागि राष्ट्रिय अध्यक्ष बन्न सात जना चुनावी मैदानमा रहेका छन् । चितवनको विसहजार जेसीज शाखाका अरुणेश्वर खनाल, काभ्रेका विकास मानन्धर, नवलपरासीको गैडाकोटका गोकुल सापकोटा, दाङको त्रिभुवननगरका लालमणी भण्डारी, मकवानपुरको हेटौडाकी शोभा खरेल, नुवाकोटका रविन पोखरेल र मोरङ्को विराटनगर जेसीजका श्यामसुन्दर पौडेल अहिले चुनावी दौडमा उत्रिनु भएको हो ।
गत बर्ष पनि प्रतिश्पर्धा गरेर पराजित हुनुभएका अरुणेश्वर खनाल र विकास मानन्धरसहितका केही उम्मेदवारहरु भने यस पटक मिलेर एक जना मात्रै उम्मेदवार बन्ने संभावना बढेको जेसीज अगुवाहरुले बताएका छन् ।