काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमका कारण नौ महिनादेखि बन्द रहको काठमाडौंको पशुपतिनाथ मन्दिर आजदेखि खुल्दै छ । मन्दिर खुलानुभन्दा अघिल्लो दिन हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा क्षमा पुजा गर्नुभएको थियो ।
लामो समयसम्म मन्दिर बन्द गर्नु परेका कारण क्षमा माग्न क्षमा पूजाको आयोजना गरिएको हो । हिजो क्षमा पूजा गरिएको र आजदेखि दर्शनार्थीहरुका लागि मन्दिर खुल्ला गरिने पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रदीप ढकालले जानकारी दिनुभयो ।
पहिलो चरणमा पश्चिम ढोकाबाट दर्शनार्थीहरुलाई प्रवेश गराइने र सोही ढोकाबाट बाहिरिने व्यवस्था मिलाइने छ । दर्शनार्थीहरुले अनिवार्य मास्क लगाउनु पर्ने छ ।
दर्शनार्थीहरुका लागि मन्दिर खोलिए पनि विशेष पूजा र मन्दिरभित्र भजनकीर्तिन भने तत्काल नहुने ढकालले बताउनुभयो ।