काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले आयोजना गरेको विरोध कार्यक्रमका कारण आज केही समय काठमाडौ उपत्यकाको यातायात सेवा प्रभावित हुने भएको छ । पार्टी केन्द्रीय समितिको निर्देशन अनुसार काठमाडौ उपत्यकाका काठमाडौ, ललितपुर र भक्तपुर जिल्ला कार्यसमितिले र्याली सहितको विरोध सभा आयोजना गरेका छन् ।
सडकमा र्याली तथा विरोध सभाहरु आयोजना गर्ने भएकाले काठमाडौका केही ठाउँमा केही समय यातायात सेवा प्रभावित हुने भएको हो । काठमाडौ जिल्ला कार्यसमितिले छुट्टा छुट्टै ठाउँबाट र्याली निकाल्ने तय गरेको छ । निर्वाचन क्षेत्र अनुसार तोकिएको ठाउँमा १२ बजे भेला हुन कार्यकर्ताहरुलाई काँग्रेसले निर्देशन दिएको छ ।
काठमाडौको क्षेत्र नं १ को भृकुटीमण्डप, क्षेत्र नं २, ३ र ४ को पुतलीसडक चोक, क्षेत्र नं ५, ६ र ७ को लैनचौर, क्षेत्र नं ८ को वसन्तपुर र क्षेत्र नं ९ र १० को सहिद गेटमा जम्मा हुन भनिएको छ । भेला भएपछि उनीहरु जुलुस सहित शान्ति वाटिका रत्नपार्क जाने र सवै तिरबाट आएकाहरु रत्नपार्कमा जम्मा भएपछि १ बजे रत्नपार्क, बागबजार, पुतलीसडक, कमलादी त्रिचन्द्र क्याम्पस हुँदै पुन शान्तिवाटिकामा आएर बिरोध सभामा परिणत हुने काँग्रेसले जनाएको छ ।
ललितपुर जिल्ला कार्यसमितिले विहान ११ बजे लगनखेलमा भेला भएर र्याली र विरोध सभा गर्ने जनाएको छ । भक्तपुरमा भने १२.३० बजे सल्लाघारी सृजनानगरमा भेला जम्मा भइ बिरोध र्याली सहित सुर्यविनायक चोकमा पुगेर बिरोध सभा गर्ने तय भएको छ । र्याली तथा विरोध सभा हुने समय र स्थानबाट आवात जावत नगर्न र सकेसम्म बैकल्पीक बाटोहरु प्रयोग गर्न ट्राफिक प्रहरीहरुले अनुरोध गरेका छन् ।