काठमाडौं । विश्वका कतिपय देशहरुले कोरोनाविरुद्धको खोप आफ्ना नागरिकलाई लगाउन थालिसक्दा समेत नेपाल सरकार भने अन्यौलमै रहेको छ । नेपालमा खोप कहाँबाट कहिले ल्याउने भन्ने बारेमा अहिलेसम्म पनि कुनै टुंगो लगाउन नसक्दा सर्वत्र आलोचना हुन थालेको छ ।
विज्ञ तथा सरोकारवालाहरुले सरकारको तयारीको अवस्था हेर्दा नेपालमा खोप आउन धेरै समय लाग्ने देखिएको बताएका छन् । कोरोना नियन्त्रणमा जस्तै खोप ल्याउन पनि सरकारले ढिला सुस्ती र लपर्वाही गरिरहेको नागरिक अगुवा तथा बरिष्ठ चिकित्सक डा सुन्दरमणी दिक्षितको आरोप छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उहाँले भन्नुभयो, “पहिला कोरोनाको नियन्त्रण गर्ने बेलामा पनि यीनीहरुले केही गरेनन्, अहिल खोपमा पनि यस्तै भएको छ, फेरी निराश बनाएका छन् ।”
उहाँले कोरोना नियन्त्रणका सामग्री ल्याउने बेलामा जस्तै अहिले पनि भ्रष्टाचार गर्ने दाउ हेरेर बसेको हुनसक्ने आरोप पनि लगाउनुभयो ।
“कोरोनाको खोप ल्याउँदा अरबौँको कारोबार हुन्छ, त्यसमा पनि भ्रष्टाचार गर्नका लागि यीनीहरुले दाउ हेरेका हुनसक्छन,” डा दिक्षितले भन्नुभयो । उहाँले अरु देशहरुबाट ल्याउनुभन्दा छिमेकी भारत र चीनबाट ल्याउनेगरी पहल गर्नु नै बुद्धिमानी हुनसक्ने बताउनुभयो ।
खोपका लागि दाता र चन्दाको अपेक्षा गर्नु लाजमर्दो कुरा भएको टिप्पणी गर्दै उहाँले खोपका लागि अहिले बल्ल रकमको खोजी गर्नु खोज्नु नै धेरै ढिलाई भइसकेको दावी गर्नुभयो ।
“नेपाल कंगाल भइसकेको र खोप पनि किन्न नसक्ने अवस्थामा पुगेको छैन, यहीका धेरै श्रोतबाट रकम जुटाउन सकिन्छ, सांसदलाई दिइएको पाँच करोड यता लगाउन सकिन्छ, फजुल खर्च रोक्न सकिन्छ, भ्रष्टाचार नियन्त्रण गर्ने हो भने कसैसँग माग्नै पर्दैन,”डा दिक्षितले भन्नुभयो ।