काठमाडौं । कोरोना कहरका कारण बन्द भएको ८ महिनापछि सदर चिडियाखाना खुल्दैछ । चैत ७ गतेदेखि बन्द भएको जावलाखेलको सदर चिडियाखाना आजदेखि खुल्ने भएको हो । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्णयपछि स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पालना गरिने छ ।
चिडियाखानामा प्रवेशका लागि स्वास्थ्यका मापदण्ड तयार पारिएको छ । चिडियाखानामा प्रवेश गर्दा हरेक व्यक्तिले मास्क अनिवार्य लगाउनुपर्नेछ । प्रवेश क्षेत्रमा स्यानिटाइजरको व्यवस्था गरिएको छ । भीडभाड व्यवस्थापन गर्न एकपटकमा बढीमा ७०० देखि ८०० व्यक्तिलाई मात्र प्रवेश दिइनेछ ।
चिडियाखाना भित्र प्रवेश गरेको बढीमा डेढ घण्टाभित्र बाहिर निस्कनुपर्नेछ । यसैगरी चिडियाखानाभित्र बसेर खान र वन्यजन्तुलाई खुवाउन तथा छुन पाइने छैन ।, यस्तैभित्र बालबालिकालाई खेलाउन पाइने छैन । यसअघि झैँ हरेक दिन बिहान १० देखि बेलुका ५ बजेसम्म चिडियाखाना खुल्नेछ ।
भीडभाड हुन नदिन अनलाइन टिकटको व्यवस्था पनि गरिएको छ । अवलोकनका गर्न विदेशीका लागि ७५०, सार्क राष्ट्रका पाहुनाका लागि ५००, नेपालीलाई १५० र नेपाली विद्यार्थी तथा ज्येष्ठ नागरिकका लागि ९० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।