काठमाडौं । मोरङमा मंगलबार एक शिक्षकको हत्या भयो । उनी थिए मिक्लाजुङ गाउँपालिकाका –१ का ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठ । उनी स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक थिए ।
मंगलबार बिहान पनि प्रधानाध्यापक श्रेष्ठ आफ्नो सामान्य दैनिकीमा थिए । बिहान साढे ५ बजेतिर उनको घरमा एउटा समूह आयो र उनलाई अपहरणमा गरेर लग्यो । मोरङ प्रहरीका अनुसार खबर पाएलगत्तै प्रहरी उनको घरमा पुगेको थियो । लगत्तै उनकोे खोजी कार्यमा प्रहरी परिचालन भयो ।
तर, उनी शकुशल भेटिएनन् । उनको शव जंगलमा फेला पर्यो । उनको घाँटी रेटेर हत्या गरिएको थियो ।
घटनाको प्रारम्भिक अनुसन्धानले शिक्षक श्रेष्ठको हत्या नेत्र विक्रम चन्द ‘विप्लव’ समूहले गरेको बताएको थियो ।
घटना भएको मंगलबार साँझ नै विप्लव समूहको मेची–कोशी व्युरो इञ्चार्ज प्रतापले विज्ञप्ति जारी गर्दै घटनाबारे जिम्मेवारी लिएका छन् । पार्टीविरुद्ध सुराकी गरेको आरोपमा सम्झाउन जाने क्रममा हतियार लिएर आइलागेकाले घटना भएको विप्लव समूहको दाबी छ ।
तर, प्रत्यक्षदर्शीले भने हतियारसहित आएका चार जनाले शिक्षक श्रेष्ठलाई लगेको देखेको बताएका छन् ।
यसैबीच, शिक्ष्क श्रेष्ठको शव विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको छ । उनको शवलाई पोष्टमार्टमका लागि धरान पठाइएको मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताउनुभयो ।