दार्चुला र काभ्रेमा भएको छुट्टाछुटै सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । दार्चुलामा गएराति ट्रक दुर्घटना हुँदा घटनास्थलमै तीन जनाको मृत्यु भएको छ ।
गोकुलेश्वरबाट दार्चुला सदरमुकाम खलंगाका लागि छुटेको ना ३ ख ३४८५ नम्बरको ट्रक भर्तोला भन्ने ठाउँमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी पदमबहादुर विष्टले जानकारी दिनुभयो । मृत्यु हुनेमा २४ वर्षीय चालक शेरसिंह कार्की छन् भने दुई जनाको परिचय खुलेको छैन ।
यता, काभ्रेको बनेपामा हिजो साँझ दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा काभ्रेको धुलिखेल नगरपालिका– ८ का २८ वर्षीय सत्यमान तामाङ र सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– ६ का हरिकृष्ण बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक कुमार बिक्रम थापाले जानकारी दिनुभयो ।
दुर्घटनाम गम्भीर घाइते भएका तामाङ र बस्नेतको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सिन्धुपाल्चोकका बिकास बस्नेत, धुलिखेल १८ वर्षीय अनिल मगर, उदयपुरका १८ वर्षकै सुबास मगर घाइते भएका र उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।