काठमाडौं । बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणाली कमजोर हुँदै गएको छ । त्यसैले आज कोशी, मधेश र बागमती प्रदेशका जिल्लामा जोखिम नरहेको मौसमविदले जनाएका छन् । गएरातिदेखि काठमाडौं उपत्यकासहितका बागमती प्रदेशदेखि पूर्वतिरका जिल्लामा भइरहेको वर्षा पनि आजबाट रोकिने सम्भावना रहेको मौसमविदले बताएका छन् ।
नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यूनचापीय प्रणाली क्रमशस् कमजोर बन्दै कोशी प्रदेशबाट बाहिरिइसकेको छ । मधेश र बागमतीमा रहेको हल्का प्रभाव पनि आजबाट हट्ने सम्भावना छ । आज अपराह्नदेखि कोशी, मधेशका साथै काठमाडौं उपत्यकासहित बाग्मतीमा उल्लेख्य सुधार देखिने सम्भावना छ । तर गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशतिर पनि आज पनि वर्षा जारी रहने सम्भावना छ । यद्यपि अघिल्ला दिनको तुलनामा भने वर्षाको क्षेत्र र मात्रा कम हुने छ । पछिल्लो तीन घण्टायता वर्षा धेरै हदसम्म कम भएको छ । महाशाखाका अनुसार गत २४ घण्टामा भने बागमती, गण्डकी, लुम्बिनी, कर्णालीका जिल्लाहरुमा भारीदेखि अति भारी वर्षा भएको छ । सबैभन्दा धेरै चितवनको कल्याणपुरमा २२२।४ मिलिमिटर वर्षा मापन भएको छ । मौसमविद उज्ज्वल उपाध्यायका अनुसार भोलिदेखि चितवनको नारायणी नदीदेखि पश्चिमको भूभाग अर्थात् गण्डकी, लुम्बिनी, कर्णाली र सूदूरपश्चिममा भने पूर्णरुपमा मौसम खुल्न सोमबार पर्खनुपर्ने छ । त्यसपछि यो हप्ताभर ठूलो वर्षाको सम्भावना नरहेको उनले उल्लेख गरेका छन् । यद्यपि मनसुनी प्रणाली भने देशैभरी अझै कायम रहेकाले हल्कादेखि वर्षाको सम्भावना भने कायम रहने सम्भावना छ ।