Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

हट्ला त गाँजा लागुऔषधको सूचिबाट ? बन्ला त औषधि ?

हट्ला त गाँजा लागुऔषधको सूचिबाट ? बन्ला त औषधि ?

  • शुक्रवार, मंसिर १९ २०७७

  • 1.9K
    SHARES

  • हट्ला त गाँजा लागुऔषधको सूचिबाट ? बन्ला त औषधि ?

    काठमाडौं । विगत केही वर्षयता नेपालमा विभिन्न कोणबाट गाँजासम्बन्धी बहस भइरहेको छ । यसैबीच, नेपालले संयुक्त राष्ट्रसंघमा गाँजालाई कडा प्रकृतिको लागुऔषधको सूचिबाट हटाउने पक्षमा मतदान गरेको छ ।

    राष्ट्रसंघको लागु औषधसम्बन्धी एक सेसनमा नेपालसहित तीन दर्जन मुलुकले सो पक्षमा मतदान गरेका हुन् ।

    नेपालमा पछिल्लो समयमा गाँजाको व्यापार र यसलाई औषधीजन्य व्यापारका लागि अनुमति दिनुपर्ने माग उठिरहेको छ । माग उठाउनेमा अरु कोही नभएर पूर्वमन्त्री र सांसदहरु नै छन् ।

    पूर्वकानुनमन्त्रीसमेत रहेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद शेरबहादुर तामाङ, अर्का सांसद विरोध खतिवडालगायत गाँजा बैधानिक हुनुपर्ने पक्षधर हुन् ।

    अमेरिका, क्यानडासहित केही युरोपेली मुलुकमा गाँजाको वैधानिक प्रयोग खुला भइरहेका बेला नेपालमा पनि यो खुला गर्नुपर्ने उनीहरुको माग छ ।

    करिब २ वर्षअघि प्रतिनिधिसभाको बैठकमा नेकपाका सांसद खतिवडाले यसबारे कुरा उठाएका थिए ।

    Birodh-khatiwada.jpg

    बैठकमा बोल्न दिइएको तीन मिनेट समयमा सांसद खतिवडाले विदेशमा धमाधम गाँजा खुला भइरहेका बेला नेपालले समयमै यसबारे पहल गर्नुपर्ने बताएका थिए ।

    ’संसद गफ गर्ने थलो होइन । झन् गजेँडीको गफ गर्ने थलो हुँदै होइन । यसका बाबजुद म गाँजाबारे बोल्दैछु,’ बैठकमा उनले भनेका थिए ।

    पूर्वीय सभ्यतामा पूर्खौंदेखि औषधि र तरकारीका रूपमा गाँजा प्रयोग हुँदै आएको उनले चर्चा गरेका थिए ।

    ‘यही आधारमा गाँजा प्रयोग गर्न पाउनुपर्छ भन्ने मेरो माग होइन । धार्मिक रूपमा हेर्ने हो भने त शिवजी गाँजामा लठ्ठ भएर हिँड्थे । हामी उनका भक्त हौं । तर यही कारणले गाँजा प्रयोग गर्न पाउनुपर्छ भन्ने माग पनि मैले उठाएको होइन’, उनले थपे, ‘मेरो माग यो हो, हामी गाँजालाई लागुऔषधको सूचीमा राख्ने सन्धिमा बाँधिएका छौं ।’

    हामीजस्तै सन्धिमा बाँधिएका अमेरिका, क्यानडा, ओसियाना मुलुक र हालै थाइल्यान्डमा गाँजा खेतीले मान्यता पाइसकेको उनले जानकारी दिएका थिए ।

    ‘यद्यपि, ती देशमा औषधिका रूपमा गाँजा प्रयोग गर्न खुला भएको छ,’ खतिवडाले संसदको ध्यानाकर्षण गराए, ’ती देशहरूले वैधानिक गाँजा खेती गरी आयआर्जन गर्दैछन् । हामी भने त्यसको विपरीत छौं । उनीहरूले जुन कानुनका बुँदा टेकेर यो काम गरिरहेका छन्, हामी त्यही बाटो समातौ ।’

    त्यस्तै, पूर्वसचिव भीम उपाध्याय पनि गाँजालाई बैधानिकता दिने पक्षमा छन् । गाँजा खाएकै आधारमा हालसम्म विश्वमा कसैको पनि मृत्यु नभएको उनको तर्क छ ।

    bhim.jpg

    ‘गाँजा खाइ कुनै रोग लागेर आजसम्म विश्वमा एकजना पनि मरेको रेकर्ड छैन । चुरोट र रक्सीले वर्षको लाखौ मान्छे मरिरहेका छन् । नेपालमा पनि वर्षको ३० हजार मरिरहेका छन्’, उनको प्रतिप्रश्न छ्, ‘चुरोट, रक्सी वैध अनि गाँजा चै कडा लागूपदार्थ ? मूर्खताको पनि पराकाष्ठा ! नेपालीहरू ती मुर्खहरुको बफादार चेलाचपेटा बनेर रम्ने जात बन्दै जानु लाजमर्दो हो ।’

    नेपालमा लागुऔषध नियन्त्रण ऐन २०३३ ले गाँजा निषेध गरेको छ । ऐनले गाँजासहित भाङ, गाँजा मूलका जुनसुकै बोट, पात, फूलका साथै बोटबाट आउने चोप, खोटो र चरेसलाई लागुऔषध किटान गरेको छ । यी चिज मिसाएर बनाइने औषधि पनि लागुऔषधकै श्रेणीमा पर्छन् ।

    गाँजालाई बैधानिकता दिनुपर्नेमा विश्व हिन्दू युवासंघका अध्यक्ष ऋषिकेशजंग शाह, लेखक तथा पत्रकार लीलाराज खतिवडालगायतका अभियन्तासमेत जोड दिइरहेका छन् ।

     


    शुक्रवार, मंसिर १९ २०७७०१:०८:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij