बुटवल । पाल्पाको तिनाउ गाउँपालिकामा निर्माणको चरणमा रहेको नमः बुद्ध हाइड्रोपावर प्रालिको लगानी सुनिश्चित भएको छ। भिजन लुम्बिनीद्वारा प्रवर्धित ३.४४ मेगावाटको नमः बुद्ध हाइड्रोपावर निर्माणका लागि लुम्बिनी विकास बैँकले लगानी गर्ने सुनिश्चत भएको हो ।
लगानीकर्ता लुम्बिनी विकास बैँक लि। र निर्माणकर्ता नमः बुद्ध हाइड्रो इनर्जी प्रा.लि.बिच जलवविद्युत आयोजनामा ऋण लगानी गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । करिब ७० करोड रुपियाँ लागत रहने आयोजनामा लुम्बिनी विकास बैँकले ३२ करोड ऋण लगानी गर्न लागेको हो ।
हस्ताक्षर पत्रमा बैँकको तर्फबाट लुम्बिनी विकास बैँक लिमिटेडका डेपुटी सिइयो सुमन आचार्य तथा नमः बुद्ध हाइड्रोको तर्फबाट मुख्य प्रवर्धक रहेको भिजन लुम्बिनीका अध्यक्ष जगतबहादुर पोख्रेल हस्ताक्षर गर्नु भएको छ ।
हस्ताक्षर समारोहमा लुम्बिनी विकास बैँक लिमिटेडका डेपुटी सिइओ सुमन आचार्यले हाइड्रोपावर परियोजनाको प्राविधिक पक्ष, वातावरणीय तथा पर्यावरणीय पक्ष, स्थानीयको लगानी, अन्य आयोजना सफल गरिसकेको भिजन लुम्बिनीलाई हेरेर ऋण लगानी गरिएको बताउनुभयो। आचार्यले अन्य जोखिमको सूक्ष्म तरिकाले अध्ययन तथा निगरानी गरी सोको उचित समाधान दिने बताउनुभयो ।
तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले तिनाउँमा २ वटा केवलकार सञ्चालनमा रहेको र अब तिनाउ हाइड्रोपावर पनि बन्ने भएपछि स्थानीयको आयआर्जनमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यो आयोजना लामो समयदेखि बनाउने प्रयास भएपनि भिजन लुम्बिनीले अग्रसरता लिएपछि भने बन्नेमा ढुक्क भएको उल्लेख गर्नुभयो । सरकारले निजी क्षेत्रको लगानीलाई सुरक्षित गराउने कामलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाई थियो।
भिजन लुम्बिनीका अध्यक्ष जगतबहादुर पोख्रेलले सामुहिक लगानी नै समृद्धिको आधार भएकाले जलविद्युतमा लगानी बढाइएको जानकारी दिनुभयो। सो अवसरमा विभिन्न क्षेत्रबाट समाजमा योगदान दिने व्यक्तिहरू अनुपमान सैजू, डा. विनोद पराजुली, युवा व्यवसायी कमलजङ्ग कुँवर, लायन्सका डिस्ट्रिक गभर्नर सन्दिप कसौधन लगायतलाई सम्मान पनि गरिएको थियो ।