Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

तिव्र हावाहुरी र भारी वर्षासहितको प्रतिकूल मौसमले बढायो जोखिम, आईतवारसम्मै प्रभाव रहने, सुरक्षित स्थानमा बस्न आग्रह (खास खबर)

तिव्र हावाहुरी र भारी वर्षासहितको प्रतिकूल मौसमले बढायो जोखिम, आईतवारसम्मै प्रभाव रहने, सुरक्षित स्थानमा बस्न आग्रह (खास खबर)

  • शुक्रवार, चैत्र ६ २०८२

  • 321
    SHARES

  • तिव्र हावाहुरी र भारी वर्षासहितको प्रतिकूल मौसमले बढायो जोखिम, आईतवारसम्मै प्रभाव रहने,  सुरक्षित स्थानमा बस्न आग्रह  (खास खबर)


    काठमाडौं । तिव्र हावाहुरी र भारी वर्षासहितको प्रतिकूल मौसमले जोखिम बढाएको छ । देशका विभिन्न स्थानमा भिषण हावाहुरी सहित असिनासहितको वर्षा भईरहेको छ । जसले गर्दा जनजिवन अस्तव्यस्त भएको हो ।

    काठमाडौंसहित धेरै ठाउँमा हावाहुरी र असिनासहित मुसलधारे वर्षा भएको छ । कर्णाली, लुम्बिनी, बागमती र मधेश प्रदेशका विभिन्न जिल्लामा हावाहुरी र वर्षाको प्रभाव बढी देखिएको छ ।

    बर्षाले खेतीबालीमा नोक्सानी पुगेको छ । देशका कतिपय स्थानमा आज दिउँसै साँझको जस्तो अँध्यारो मौसम बनेको थियो । सवारी साधनले दिउसै बत्ति बालेर हिड्नुपर्ने अवस्था भयो । प्रतिकुल मौसमले हवाई उडान पनि अवरुद्ध भएका छन् । केहि ठाउँमा सडक अवरुद्ध भएका छन् ।

    यतिखेर पश्चिमी वायुको पानी पार्ने प्रणाली सक्रिय छ। यो प्रणाली थप सक्रिय हुने र हावाहुरी, असिनापानी बढ्दै जाने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    मौसमविद् हरि प्रसाद दाहालका अनुसार अहिले देशका सबैजसो ठाउँमा मेघगर्जन, चट्यान र हावाहुरी सहितको बर्षा भईरहेको छ । नेपालको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेश प्रदेशमा अहिले हावाहुरी, मेघगर्जन चट्याङ सहित पानी परिरहेको हो ।

    शक्तिशाली पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकामा समेत पानी परिरहेको छ । यसको प्रभावले पश्चिम नेपालका जिल्लाहरुसँगै गण्डकी र बागमतीमा हावाहुरीसँगै पानी परिरहेको छ । र, यो प्रणाली क्रमश पूर्व सरिरहेको छ ।

    कोशी प्रदेशमा आजको तुलनामा भोलि शनिबारको दिन बढी प्रभाव पर्ने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागको पछिल्लो पूर्वानुमान अनुसार मोरङ जिल्ला र विशेष गरी विराटनगर क्षेत्रमा भोली अत्यन्तै तीव्र गतिको हावाहुरी चल्ने सम्भावना पनि देखिएको छ । मौसमविद दाहालका अनुसार यस्तो अवस्था पर्र्सी आईतवारसम्म कायम रहने सम्भावना छ । ‘आइतबार दिउँसो पछि मात्रै मौसममा क्रमिक सुधार हुदै जानेछ ।

    गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न भागमा भारी वर्षा, हिमपात र ठूलो हावाहुरी चलिरहेकाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिरहेको छ ।

    विपद् प्राधिकरणले आकाशमा बिजुली चम्किन थालेर गड्याङगुडुङ गर्न थालेपछि सतर्क हुने र नजिकै कुनै घर÷संरचना भएभित्र गइहाल्नुपर्ने सुझाव दिएको छ ।प्राधिकरणका अनुसार कर्णाली र सुदूरपश्चिमको पहाडी र हिमाली क्षेत्रमा भारी वर्षा र हिमपातको सम्भावना छ ।

    राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत प्रभावित क्षेत्रका बासिन्दा र यात्रुलाई अनावश्यक यात्रा नगर्न, सुरक्षित स्थानमा बस्न र सवारीसाधन सञ्चालन नगर्न आग्रह गर्दै विशेष सतर्कता अपनाउन अनुरोध गर्नुहुन्छ ।

    प्रि–मनसुनको अवधि पनि रहेकाले तीव्र हावाहुरीबाट रुख ढल्ने, कमजोर संरचना उडाउने वा विद्युत तथा सञ्चार सेवा प्रभावित हुने सम्भावना हुन्छ । यस्तो अवस्थामा सचेत रहन र सतर्कता अपनाउन अनिवार्य हुन्छ ।

    मौसमको प्रतिकुल अवस्थामा किसानहरूले बाली जोगाउन सक्दो सुरक्षित उपाय अपनाउनु पर्ने सुझाव दिईएको छ । साथै यात्रुहरूले यात्रा अघि मौसमको अवस्था बुझेर मात्रै यात्रा गर्नु पनि अनुरोध गरिएको छ । अहिलेको जोखिमपुर्ण अवस्थामा अनावश्यक रूपमा बाहिर ननिस्कने र मौसमसम्बन्धी आधिकारिक सूचनामा ध्यान दिन विपद् प्राधिकरणका प्रवक्ता महत आग्रह गर्नुहुन्छ ।

    आज हावाहुरी सहित आएको पानी र असिनाले त्रिभुवन विमानस्थल सहित नेपालका धेरै विमानस्थल प्रभावित भएका छन् । वर्षा र मेघ गर्जनसहितको मौसमका कारण उडान सुरक्षामा चुनौती देखिएपछि जहाजहरूले सुरक्षित रूपमा अवतरण गर्न नसकेका हुन् ।

    हालको प्रतिकूल मौसमले जोखिम बढाएको यो अवस्थामा व्यक्तिगत सावधानी, पूर्वतयारी र सतर्कता अपनाए मात्रै सुरक्षित रहन सकिन्छ । त्यसैले, सचेत भई आवश्यक सुरक्षा उपाय अपनाएमा सम्भावित क्षति कम गर्न सकिने भएकाले सबै नागरिक जिम्मेवार र सतर्क रहन अपरिहार्य देखिन्छ ।


    शुक्रवार, चैत्र ६ २०८२०७:५६:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij