काठमाडौं । तराई–मधेशका जिल्लामा शीतलहर र बाक्लो हुस्सुका कारण विगत केहिदिनदेखि जनजिवन कष्टकर बनिरहेको छ । शीतलहरका कारण स्वास्थ्य, यातायात, शिक्षा, कृषि तथा मानिसहरूको दैनिक जीवनमा प्रत्यक्ष असर परेको हो ।
सामान्यतः अन्य अवस्थामा खासै चिसो अनुभव गर्न नपरेको तराई मधेश क्षेत्रका बासिन्दाका लागि लगातार बाक्लो हुस्सुसँगै चिसो वातावरण भोग्नुपर्दा हरेक बर्ष कष्टकर हुने गरेको छ ।
कुहिरोको तह बाक्लिँदै गएर सूर्यका किरण पृथ्वीको सतहसम्म आउन नसकेको अवस्थालाई नै शीतलहर भनिने गरिएको मौसमविद्हरूको भनाइ छ । त्यसैगरि हिमाली जिल्लाहरुका केहि ठाँउमा हिमपातले जनजीवन प्रभावित भएको छ ।
शीतलहरले तराई÷मधेशका जिल्लामा जनजिवन प्रभावित बनेसँगै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चिसोबाट जोगिन विषेश सावधानी अपनाउन आग्रह गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत विगत केही दिनदेखि तराईमा शीतलहरले जनजीवन प्रभावित भइरहेको बताउनुहुन्छ । अहिले शीतलहरकै अवस्था रहेको उहाँको भनाई छ ।
हिमाली र उच्च पहाडी भेगका केहि ठाँउमा हिमपात भएपनि पर्यटनको सिजन नभएकाले दुखदः घटना नभएको प्रवक्ता महतले जानकारी दिनुभएको छ ।
महतले चिसोबाट नागरिकहरूलाई बचाउन प्राधिकरणले सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालय, स्थानीय तहलाई प्रभावकारी व्यवस्थापन गर्न निर्देशन दिएको बताउनुहुन्छ ।
महिला, बालबालिका, सीमान्तकृत सङ्कटापन्न समुदायका लागि न्यायो कपडा र दाउराको व्यवस्था गर्ने लगायतका कामहरू भइरहेको प्राधिकरणका प्रवक्ता महतले जानकारी दिनुभएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार तराईका धेरै स्थानहरूमा विगत केहि दिनदेखि हुस्सु÷कुहिरो लागेको छ । पहाडी र हिमाली भूभागमा भने मौसम मुख्यतया सफा रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै केहि दिन तराईका धेरै स्थानमा हुस्सु र कुहिरोको प्रभाव देखिनेछ । मौसमविद् डेभिड ढकालका अनुसार तराई–मधेशमा खुलेर चर्को घाम लाग्ने अवस्था अझै केहि दिन रहेको छैन । शीतलहर कहिलेसम्म कायम हुन्छ भन्ने बिषयमा थप मौसमी अवस्थालाई हेरेर बिश्लेषण गरिने मौसमविद् ढकालको भनाइ छ ।
शितलहरको प्रभावले तराई भू–भागको दैनिक जनजीवन, कृषि, स्वास्थ्य तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन पनि सबैमा आग्रह गरिएको छ ।
जाडो बढेसँगै प्रत्येक बर्ष विशेषगरी तराई मधेशका जिल्लामा शीतलहरले जनजीवन प्रभावित हुँदै आएको छ। गरिबीका कारण र स्वास्थ्यमा विशेष ख्याल नगर्दा शीतलहरकै कारण बर्सेनि धेरै जनाकोे मृत्यु पनि हुने गरेको छ ।
शीतलहर वा बढी चिसोको बेला विशेष गरेर बालबालिका, वृद्धवृद्धा, गर्भवती, सुत्केरी, दीर्घरोगी बढी जोखिममा पर्ने गर्दछन् । किनभने उनीहरुमा तापक्रम समायोजन गर्ने क्षमता कम हुन्छ ।
सहजै सबै वातवरणमा समायोजन हुन गाह्रो हुन्छ ।चिसोले रगत बाक्लो बनाउँने,जाडोमा शरीर धेरै खुम्चने भएकाले रक्तनली साँघुरो हुने र रक्तप्रवाहमा समस्या आउँने चिकित्सकहरुको भनाइ छ ।
सरुवा रोग विशेषज्ञ,डा. शेर बहादुर पुनका अनुसार चिसोले श्वासप्रश्वास, छाला, आँखा लगायतमा असर गर्ने र स्वास्थ्यमा अन्य गम्भीर जटिलता आउने गर्दछ । स्वास्थ्यमा गम्भीर समस्या देखिए तुरुन्त स्वास्थ्य संस्था जान उहाँ सल्लाह दिनुहुन्छ ।
जाडो समयमा चिसोबाट बच्नु निकै महत्वपूर्ण हुन्छ । चिसोमा हामीले शरीरलाई न्यानो राख्न जरुरी हुन्छ । त्यसका लागि न्यानो दिने कपडा लगाउनुपर्छ । चिसोमा धुमपान र मध्यपान गरे ज्यान समेत जान सक्ने खतरा रहन्छ ।
घर तातो बनाउने रहरमा सबै झ्याल–ढोका बन्द गरेर बस्दा या सुत्दा उकुसमुकुस भएर मान्छेको ज्यान नै जान सक्छ । यसतर्फ पनि सचेत रहनुपर्छ ।
तातो खानेकुरा, तातो झोल पदार्थ, सूप, र सुपाच्य खाना खानुका साथै सकेसम्म बिहान–बेलुकाको चिसोमा घरभित्रै बस्न पनि आग्रह गरिएको छ । आगो ताप्दा पनि सुरक्षित तरिका अपनाउनुपर्छ ।
यतिबेला तराई÷मधेशका जिल्लामा शीतलहर र बाक्लो हुस्सु, हिमाली जिल्लामा हिमपात संगसंगै काठमाडौं उपत्यका लगायत केहि ठाँउमा वायु प्रदूषण पनि उच्च मात्रामा बढिरहेको छ । हुस्सुका कारण सडकमा दृश्यता कम हुने र यातायात प्रभावित हुने गर्छ, जसले गर्दा आवागमनमा समस्या आउँछ।
यस्तो अवस्थामा आफ्नो स्वास्थ्यमा प्रतिकुल असर पर्न नदिन आम नागरिक आफै सचेत बन्न जरुरी छ । चिसोबाट बचाउन प्रभावितलाई उचित ध्यान दिन र व्यवस्थापन गर्न राज्य थप चनाखो बनेर अग्रसरता बढाउन अत्यावश्यक छ । ताकि चिसोकै कारण कसैले पनि ज्यान गुमाउन नपरोस् ।