Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बञ्चरेडाँडामा रोकियो फोहर व्यवस्थापन, सरकारले नै मौलिक अधिकार हनन गरेको गुनासो, विगतका सहमती कार्यान्वायनको माग (खासखबर)

बञ्चरेडाँडामा रोकियो फोहर व्यवस्थापन, सरकारले नै मौलिक अधिकार हनन गरेको गुनासो, विगतका सहमती कार्यान्वायनको माग (खासखबर)

  • शनिवार, कार्तिक १५ २०८२

  • 2.3K
    SHARES

  • बञ्चरेडाँडामा रोकियो फोहर व्यवस्थापन, सरकारले नै मौलिक अधिकार हनन गरेको गुनासो, विगतका सहमती कार्यान्वायनको माग (खासखबर)

    काठमाडौं। काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन पुनः रोकिएको छ। अन्तिम फोहोर व्यवस्थापन स्थल नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्यान्डफिल्ड साइट बञ्चरेडाँडा क्षेत्रका स्थानीयले फोहोर विसर्जन गर्न अवरोध गरेपछी बिहिबारदेखी पुनः फोहर व्यवस्थापन रोकिएको हो।

    उक्त फोहोरमैलाको दुर्गन्ध र त्यसबाट निस्किएको लिच्चडबाट प्रभावित क्षेत्र नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकाका स्थानियले विगतमा भएका सहमती कार्यान्वायन नहुँदा दिन दैनिकी नै कष्टकर बन्दै गएको भन्दै यतिबेला फेरी फोहोर व्यबस्थापनमा अवरोध गरेका हुन्।

    यसअघि ०७९ जेठ २६गते स्थानिय वासिन्दा र जनप्रतिनिधिसँग काठमाडौंका मेयर बालेन शाहसहितको टोलीले निश्चित समयभित्र प्रभावित क्षेत्रको भौतिक तथा सामाजिक विकासमा सहयोग र दीर्घकालीन रूपमा वातावरणीय सुधार गर्ने प्रतिबद्धता १८बुँदे सहमति गरेको थियो।

    सहमतिमा फोहरको दुर्गन्ध व्यवस्थापन गर्ने कार्य एक महिनाभित्र तथा फोहरबाट निस्कने लिच्चड खोलामा नमिसाउने गरी दुई महिनाभित्र वैज्ञानिक व्यवस्थापन गर्नुपर्ने, एक महिनाभित्र फोहर बोक्ने गाडीबाट बाटोमा लिच्चड नचुहिने व्यवस्था मिलाउने, फोहरलाई स्रोतमा वर्गीकरण गरी नकुहिने फोहर मात्रै लैजाले कुहिने फोहर कामपामा व्यवस्थापन गर्ने उल्लेख थियो।

    भौतिक पूर्वाधारतर्फ महानगरले दीर्घकालीन रूपमा फोहर ढुवानीका लागि आवश्यक पूर्वाधार, बस्ती तथा बाटोको निर्माण र व्यवस्था तीन महिनाभित्र गरिसक्ने,फोहर विसर्जनस्थल र फोहर लैजाने बाटोमा उत्पन्न हुने पहिरो नियन्त्रणको कार्य प्राथमिकताका साथ गर्ने, तीनपानेबाट बञ्चरेडाँडासम्मको सडकको जग्गाको लगत कायम गर्न पहल गर्ने बुँदा समावेश थिए।

    तर यी आधारभूत वातावरणीय सुधारसमेत नभएपछी स्थानीयवासीले बिहिबारदेखी फोहोर बोकेर सिसडोलतर्फ गएका गाडीलाई विचमै रोकेका हुन्। जसकारण उपत्यकाको १८ स्थानीय तहकै फोहर व्यवस्थापन कार्य प्रभावित भएको छ जसले घरघरमै फोहोर कुहिन थालेपछी काठमाडौं महानगरले अर्को सूचना जारी नभएसम्म फोहर सडकमा नफाली घर कम्पाउण्मा सुरक्षित तबरले राख्न आह्वान गर्दै सुचना गरेको छ।

    यसपटक विगतका सहमती कार्यन्वायनको सुनिश्चीतताबिना फोहोर विसर्जन गर्न नदिने अडान लिएका स्थानियले समस्या समाधानका लागी सहरी विकास मन्त्रालय र काठमाडौं महानगरलाई पत्र पठाएर अनुरोध गरेपछी शुक्रबार बसेको पहिलो चरणको बैठक निष्कर्षविहीन नै टुङ्गिएको छ।

    सहमति खोज्न मन्त्रालयले हिजो सचिव, काठमाडौँका सिडियो, काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत,धुनीबेँसी नगरपालिका र ककनी गाउँपालिकाका प्रमुख, स्थानीय वडाध्यक्ष र स्थानीयवासीलाई आह्वान गरेको थियो। उक्त बैठकमा सहभागी प्रतिनिधीले यसअघिका सहमति महानगरपालिका र मन्त्रालयले कार्यान्वयन नगरेको भन्दै आफूहरू आन्दोलनमा उत्रनुपरेको बताएका छन्।

    स्थानीयवासीले फोहोर र मानवबस्ती एकै ठाउँ बस्न नहुने भन्दै सदाका लागि उपत्यकाको फोहोर उपत्यकाभित्रै वा अन्यत्र व्यवस्थापनको समाधान खोज्न अनुरोध गरेका ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङले बताउनुभयो।

    सरकारसँग पटक पटक सम्झौता हुने तर कार्यान्वयनका लागि चासो नदिने भएपछि आफूहरू पुनः आन्दोलनमा उत्रिनुपरेको बताउँदै स्थानीयहरूले यसपटक उनीहरूले फोहोर फाल्ने क्षेत्र वरिपरिको बस्ती वा फोहोर फाल्ने ठाउँ स्थानान्तरणलाई मुख्य माग बनाएका छन्।

    फोहोर संकलन भएको ठाउँको लिच्चडले किसान तथा स्थानिय अत्यन्तै जोखिममा परेको र खोला क्षेत्रको बस्तीमासमेत असर पुगेको जनप्रतिनिधीहरुको दुखेसो छ।

    सुरुवातदेखी नै यो समस्या राख्दै आएपनि पछिल्लोपटक मेयर बालेनसहितको टोलीसँग गरिएका सहमती कार्यान्वायन हुनेमा आशावादी रहेपनि अहिले स्थानियलाई नै विभिन्न वाहनामा दुख दिन थालिएको र गुनासा समाधानमा महानगरले सहरी विकास मन्त्रालय र मन्त्रालयले महानगर देखाउने गरेको उनिहरुको गुनासो छ।

    फोहोरका कारण स्थानिय मर्नुपर्ने अवस्थामै पुगेको भन्दै उनिहरुले अब फोहोर व्यवस्थापनस्थल परिवर्तन गर्न र स्वस्थ रुपमा बाच्न पाउने मौलिक अधिकार हनन नगर्न आग्रह गरेका छन्।

    काठमाडौं महानगर प्रमुखले बोलेका कुराबाट त्रसित हुने सरकार बञ्चरेडाँडामा फोहोरले सास्ती खेपेका स्थानियका समस्या सुनाउने जनप्रतिनिधीलाई वेवास्ता गरेको भन्दै स्थानियले कि आफ्नो नागरिकता खोसेर शरणार्थी बनाउनुपर्ने कि संविधानमा उल्लेख मौलिक अधिकारको सुनिश्चीतता हुनुपर्ने अडान राखेका छन्। काठमाडौंमा बस्ने सुकिलामुकिला र सो क्षेत्रका झुत्रेझाम्टेको अधिकार एकै हो भन्ने कुरा नभुल्न पनि आग्रह गरे।

    उतिबेला काठमाडौं महानगरले १८बुँदे सहमती गर्ने समयमा तत्कालैदेखी कार्यान्वायन सुरु गर्ने उल्लेख गरिएका सम्झौता अझैपनि कार्यान्वायनको चरणमा गएको देखिँदैन।तर महानगरले भने कतिपय सहमती कार्यान्वायनमा गैसेको दाबी गरेको छ।

    महानगरको वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईले फोहोर व्यवस्थापनलाई नै मध्यनजर गरेर वर्गीकरण सुरु गरेर थोरै मात्रै पठाउने गरेको र ट्रान्सफर स्टेसन निर्माणका लागी टेन्डर आह्वान गरिसकेको बताउँदै थप प्रगति विवरण उपलब्ध गराउने बताउनुभयो।

    फोहोर व्यवस्थापन जस्तो संवेदनशिल विषयमा पनि सरकार जिम्मेवार बन्न सकेको छैन। फोहोरको उचित व्यवस्थापन हुन नसक्दा समयसमयमा वाधा मात्रै नभएर प्रभावित क्षेत्रका स्थानियहरुको स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक अधिकार नै हनन भैरहेको छ।

    अर्कातिर फोहोर व्यवस्थापन रोकिएपछी बन्चरेडाँडामा अहिले पचासौं फोहोर बोकेका गाडी लाइन लागेर बसेका छन् भने काठमाडौंमा फोहोर थुप्रिन थालेको छ। यसले अर्को स्वास्थ्य संकट निम्तिने जोखिम पनि छ।तसर्थ सरकारले दिर्घकालिन रुपमै समस्या समाधान गर्नेतर्फ केन्द्रित हुँदै विगतका सहमती कार्यान्वायनमा केन्द्रित हुन जरुरी छ।


    शनिवार, कार्तिक १५ २०८२०७:५५:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij