Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आधारभूत अस्पतालको योजना गगन थापाको पालाकै हो: स्वास्थ्य मन्त्रालय

आधारभूत अस्पतालको योजना गगन थापाको पालाकै हो: स्वास्थ्य मन्त्रालय

  • मंगलवार, मंसिर १६ २०७७

  • 2.8K
    SHARES

  • आधारभूत अस्पतालको योजना गगन थापाको पालाकै हो: स्वास्थ्य मन्त्रालय

     

    काठमाडौं । सरकारले सोमबार देशभरका विभिन्न स्थानीय निकायमा शिलान्यास गरेको आधारभूत अस्पतालको खाका तत्कालिन स्वास्थ्य मन्त्री गगनकुमार थापाको कार्यकालमा बनेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    देशभरका ३०९ वटा पालिकामा सोमबार ५ देखि १५ शैयाका आधारभूत अस्पतालको एकसाथ शिलान्यास अहिले गरिएपनि योजना भने थापाको पालामा बनेको स्वास्थ्य मन्त्रालयका सल्लाहकार डा. खेम कार्कीले जानकारी दिनुभयो ।

    “उहाँको पालामा योजना बनाउनु भयो, तर कार्यान्वयन गर्न सक्ने परिस्थीतिमा पुग्नु भएन, स्वभाविक नै हो त्यति बेला अस्थीर र कोलिसन सरकार भएकाले कार्यान्वयन गर्न नपाउनु भएको होला । तर अहिले स्थीर सरकार भएकाले कार्यान्वयनमा लागिएको हो,” उहाँले भन्नुभयो ।

    सल्लाहकार डा. कार्कीले राम्रो काम जस्ले गरेपनि प्रशंसा गर्नुपर्ने र स्वागत गर्नु पर्नेमा जोड दिदै तत्कालिन स्वास्थ्य मन्त्री थापाले आधारभूत अस्पताल बनाउने सोँच र योजना बनाएको उल्लेख गर्नुभयो ।

    विगतमा लामो समयसम्म स्वास्थ्य मन्त्रालयले प्राथमिकता र महत्व नपाएकाले पनि स्वास्थ्य क्षेत्रमा ठूला कामहरु हुन नसकेको उहाँले टिप्पणी गर्नुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा डा. कार्कीले भन्नुभयो, “ठूला दलहरु सरकारमा सहभागी भएका बेला पनि अन्य मन्त्रालय रोजाइमा पर्ने तर स्वास्थ्य मन्त्रालय नपर्ने गरेकोले यो मन्त्रालय ओझेलमा पर्यो ।

    ” प्रथम राष्ट्रपति डा. रामबरण यादव बिसं २०५६ देखि २०५८ सम्म स्वास्थ्य मन्त्री भएका बेला बनाइएको संचरनाकै आधारमा अहिलेसम्म चलिरहेको उहाँले जानकारी दिनुभयो ।

    क्रमागत हिसावले हुनु पर्ने काम पनि हुन नसकेकाले झण्डै २० बर्षदेखिको ग्याप पुरा गर्ने प्रयास अहिले भएको उहाँको भनाई छ । “दुई बर्ष भित्रमा कुनै पनि पालिका अस्पताल विहिन नहुने अवस्था गराउने योजना छ, अहिले शिलान्यास नगरिएको ठाउँमा अर्को बर्ष गरिन्छ,” डा कार्कीले भन्नुभयो । उहाँले अहिले बनाउन लागिएको अस्पतालहरुमा मेडिकल अधिकृत सहितको जनशक्ति र श्रोत साधन पुर्याउने योजना बनाइएको पनि जानकारी दिनुभयो । 

    तर तत्कालिन स्वास्थ्य मन्त्री थापाले बनाएको एकीकृत स्वास्थ्य पूर्वाधार विकास परियोजनाका सवै योजना भने अहिले नसमेटिएको विज्ञहरुले बताएका छन् । “त्यति बेला बनाइएको खाका मध्ये केही काम मात्रै अहिले गर्न लागिएको हो, पहिलै नै हुनुपर्दथ्यो, ढिलै भएपनि थोरै भएपनि भएको छ, हुदै नहुनु भन्दा यति हुनु पनि धेरै ठुलो कुरा हो, धेरै खुशी लागेको छ,” पुर्व मन्त्री थापाका प्रमुख सल्लाहकार प्रताप पौडेलले भन्नुभयो ।

    सवै नेपालीलाई आधा घण्टामा अस्पताल पुग्न सक्ने व्यवस्था हुनेगरी धेरै अध्ययन गरेर खाका बनाइएको उहाँले जानकारी दिनुभयो ।

    आफुहरु मन्त्रालयमा रहेका बेला सवै तहमा बन्ने अस्पतालहरुका लागि चाहिने सेवा, जनशक्ति, उपकरण, औषधीलगायतका विषयमा अध्ययन गरेर मापदण्ड, श्रोत जुटाउने उपाय पनि बनाएको पौडेलले बताउनुभयो ।

    “अहिले भवनमा मात्रै केन्द्रीत भएको देखियो, स्वास्थ्य सेवालाई एकिकृत रुपमा अगाडि बढाउनु पर्दछ, नत्र भवन मात्रै हुने स्वास्थ्यकर्मी, उपकरण र औषधी नहुने अवस्था आउन सक्छ,” उहाँले भन्नुभयो ।

    स्वास्थ्य मन्त्रालयले ‘नेपाल स्वास्थ्य पूर्वाधार विकास मापदण्ड’ बनाएपछि २१ वैशाख २०७४ मा मन्त्रिपरिषद बैठकले त्यसलाई स्वीकृत गरेपनि कार्यान्वनय गर्ने तयारी भइरहेका बेलामा आफुहरु विदा हुनु परेको उहाँले जानकारी दिनुभयो ।

    संचरना, सेवा र कानुनी व्यवस्थाका सम्वन्धमा त्यस बेला धेरै अध्ययन र अनुसन्धान भएको र धेरै योजना तथा खाकाहरु बनाइएकाले अहिलेको सरकारले त्यसलाई टेकेर अगाडि बढेमा मात्रै पनि धेरै काम हुने उहाँको दावी छ ।

     


    मंगलवार, मंसिर १६ २०७७०९:२०:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij