काठमाडौं । वरिष्ठ मौसमविद् मिन कुमार अर्यालले हाल वर्षा गराउने मौसमी प्रणाली निकै कमजोर भइसकेको र कोशी प्रदेशको माथिल्लो क्षेत्रमा मात्र सक्रिय रहेको बताउनु भएको छ ।
नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अर्यालले हिजो राति करिब २ बजेपछि उक्त मौसमी प्रणाली काठमाडौं उपत्यका र वरपरका क्षेत्रहरूबाट पूर्वतर्फ सरेको बताउनुभयो ।
उहाँका अनुसार अब बागमती प्रदेशसहित काठमाडौं उपत्यकामा उल्लेख्य वर्षा हुने सम्भावना छैन। “भई हाले पनि केहीबेर सिमसिम मात्र पर्न सक्छ । मौसम अनुमानभन्दा छिट्टै खुलेको भन्दै आज मध्यान्हसम्म घाम झुल्कने अपेक्षा गर्न सकिने सकिन्छ ।” उहाँको भनाई छ।
मौसमविद अर्यालले कोशी प्रदेशका पहाडी जिल्लाहरूमा भने आज साँझसम्म मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको जानकारी दिनुभएको छ । “त्यो क्षेत्रमा सप्तकोशी नदीको बहाव बढ्न सक्छ, त्यसैले सतर्कता अपनाउन आवश्यक छ,” उहाँले भन्नुभयो ।
त्रीशुली, मर्स्याङ्दी, भोटेकोशी, सुनकोशी र रोशीमा पानीको बहाव क्रमशः घट्दै जाने र कोशी बाहेकका राजमार्गहरूमा यातायात अब सुचारु गर्न सकिने देखिएको भए पनि, ठूला वर्षाले गलेका पहाडी क्षेत्रमा आज दिनभर पहिरोको जोखिम कायम रहने उहाँले चेतावनी दिनुभएको छ ।
काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा आजबाट जनजीवन सामान्य बन्दै जानेछ। “खोलानाला र साना नदीहरूमा अब तत्काल जोखिम छैन,” वरिष्ठ मौसमविद् अर्यालले स्पष्ट पार्नुभयो । उहाँले हिजो अस्तिको वर्षाका कारण बाटोमा खसेको पहिरो हटाएपछि मात्रै हिडडुल गर्न आग्रह गर्नुभएको छ ।