काठमाडौं । नारायणगढ बुटवल सडकखण्डको सबैभन्दा चुनौतीपूर्ण मानिने नवलपरासीको दाउन्ने खण्डमा दसैँ अवधिभर यात्रुलाई सास्ती हुन नदिन विशेष तयारी गरिएको छ ।
सामान्य वर्षामा समेत सडक अवरुद्ध हुने समस्यालाई दृष्टिगत गर्दै आवश्यक उपकरणसहितको ‘आकस्मिक मर्मत सम्भार टोली’ लाई चौबिसै घण्टा परिचालन गरिएको हो ।
नारायणगढ–बुटवल सडक विस्तार आयोजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले दाउन्ने खण्डमा सडक चिप्लो भएर वा भासिएर यात्रुले भोग्नुपरेको सास्तीलाई ध्यान दिँदै यो टोली चौबिसै घण्टा तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो ।
अवरोध तत्काल हटाउनका लागि टोलीमा आवश्यक हेवी उपकरणहरू र प्राविधिक जनशक्ति को व्यवस्थापन गरिएको छ । हेवी उपकरणहरू तर्फ ३ वटा जेसीभी, एउटा लोडर, एउटा स्काभेटर र दुई वटा पानी ट्याङ्की रहेको छ । त्यस्तै, जनशक्ति तर्फ प्राविधिक सहितको आवश्यक जनशक्तिलाई दसैँको सट्टा अन्य बिदा पाउने सर्तमा व्यवस्थापन गरिएको हो ।
प्राविधिक, उपकरण र जनशक्तिसहितको यो टोलीले सडक खण्डमा हुने अवरोध तत्काल हटाउने तथा नियमित मर्मत सम्भारको काम गर्नेछ । इन्जिनियर खनालका अनुसार, विश्वकर्मा मन्दिर र पैँसठ्ठीमोड लगायत अवरुद्ध हुने र भासिएको स्थानमा काम भइरहेको छ ।
२०७५ साल चैतमा सुरु भएर ४४ महिनाभित्र सम्पन्न हुनुपर्ने यो सडक खण्डको निर्माणकार्यमा भने जारी छ ।